एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले भित्र्याउन नसकेको खेलाडीलाई प्रिमियर लिग क्लब चेल्सीले भित्र्याउन प्रयास गर्नेभएको छ। चेल्सीले शिकागो फायर गोलकिपर गेब्रियल स्लोनिनालाई भित्र्याउन प्रयास गर्ने भएको हो।
यस अगाडी स्लोनिनालाई रियलले भित्र्याउन खोजेको थियो। तर उनले रियलको प्रस्तावलाई सिधै अस्विकार गरेका थिए। खबरका अनुसार उनले गत साता मात्रै रियलको प्रस्तावलाई अस्विकार गरेका थिए।
स्लोनिनालाई भित्र्याउन चेल्सीले प्रयास गरिरहेको पुष्टि फाब्रिजियो रोमानोले समेत गरेका छन्। ट्रान्सफर मार्केटको राम्रो जानकारी राख्ने फाब्रिजियो रोमानोका अनुसार उनलाई भित्र्याउने दौडमा अब चेल्सी मात्रै छ।
उनलाई चेल्सीले गत फेब्रुअरीमा समेत भित्र्याउन प्रयास गरेको रोमानोले जनाएका छन्। चेल्सीको प्रस्ताव बारे उनले छिट्टै निर्णय गर्ने बताइन्छ। रोमानोका अनुसार स्लोनिनाको ट्रान्सफर अमेरिकन लिग(एमएलएस)ले किर्तिमान बनाउन सक्छ।
स्लोनिना शिकागो फायर एकेडेमीका उत्पादन हुन्। उनले सन् २०२१ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए। त्यस समय उनी एमएलएसका लागि खेल्ने इतिहाँसकै सबै भन्दा कान्छा गोलरक्षक बनेका थिए।
१८ वर्षिय उनले अहिले सम्म शिकागोका लागि २५ खेल खेलिसकेका छन्। त्यस्तै उनी अमेरिकाको युवा टोलीका पनि नियमित खेलाडी रहेका छन्।