एजेन्सी – स्पेनको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक लुइस एनरिकले विश्वकपका दुई दावेदारको नाम लिएका छन्। एक पत्रकार सम्मेलनका क्रममा लुइस एनरिकले अर्जेन्टिना र ब्राजिल विश्वकपको मूख्य दाबेदारको रुपमा देखा परेको बताएका हुन्।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा एनरिकले अर्जेन्टिना र ब्राजिल अन्य टोलीहरु भन्दा धेरै अगाडी देखिएको बताए। दुवै टोली अन्य टोलीहरु भन्दा धेरै माथि रहेको एनरिकको भनाई छ।
“यदि तपाईले मलाई सोध्नुहुन्छ भने म अर्जेन्टिनालाई सबै भन्दा माथि देख्छु। त्यस्तै ब्राजिललाई पनि मैले छुटाउन मिल्दैन। यी दुई टोली बाँकी भन्दा धेरै माथि छन्।”,पत्रकारहरुले राखेका प्रश्नको जवाफ दिनेक्रममा एनरिकले भने।
एनरिकले भनेजस्तै ब्राजिल र अर्जेन्टिना कतारमा हुने विश्वकपका दावेदार रहेका छन्। दुवै टोली पछिल्लो समय धेरै राम्रो गरिरहेका छन्। दक्षिण अमेरिकी मुलुकले सन् २००२ पछि कुनै पनि विश्वकप जित्न सकेका छैनन्। सन् २००२ मा ब्राजिलले विश्वकप जितेको थियो। त्यसयताका सम्पूर्ण विश्वकप युरोपेली मुलुकहरुले नै जितिरहेका छन्।
२० वर्षपछि विश्वकप उपाधि दक्षिण अमेरिका लैजाने ब्राजिल र अर्जेन्टिनाको दाउ हुनेछ। अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीका लागि सम्भवतः यो विश्वकप अन्तिम हो। यस्तोमा उनी जसरी पनि विश्वकप जित्ने दाउमा हुनेछन्। अर्जेन्टिनासँग सन्तुलित टोली पनि छ। त्यस्तै ब्राजिलमा पनि उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी छन्।