एजेन्सी – भारत गुजरातकी एक कन्याले आफैंसँग विवाह गरेकी छन्। २४ वर्षीया क्षमा बिन्दुले आफैंसँग रीतिरिवाजपूर्वक विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
गुजरातको बडोदरास्थित आफ्नै घरमा बुधबार साँझ ‘हल्दी र मेहन्दी’ को रीतिरिवाजका साथ उनको विवाह भएको हो। यसअघि जुन ११ मा आफैंसँग विवाह गर्ने योजना उनले बनाएकी थिइन्। तर विवाद आउने सक्ने भएकाले उनले तीन दिनपहिला विवाह गरेकी हुन्।
भविष्यमा कोही मन पर्यो भने जीवनसाथी बनाउनुहुन्छ भन्ने आजतकको प्रश्नमा उनले आफू कसैकी पत्नी भएर रहन नसक्ने बताइन्। उनको विवाहमा कुनै पण्डितको उपस्थिति थिएन, निश्चित आफन्तजन मात्र थिए। विवाह उत्सवमा ब्लुटुथ स्पिकरबाट विवाहमा पढिने मन्त्र बजाइएको थियो। उनी आफैंले वरमाला, सिन्दूर र मंगलसूत्र लगाएकी थिइन्। उनी एक्लै विवाहमण्डपको हवनकुण्डमा सातपटक घुमेकी थिइन्।
विवाहको कार्यक्रम सकिएपछि उनले आफूले आफैंसँग विवाह गरेको सञ्चारमाध्यमलाई बताएकी थिइन्। उनले पुरुषसँग विवाह गर्न नचाहेको तर बेहुली बन्ने इच्छा भएकाले आफैंसँग यस्तो कर्म गरेको बताएकी छन्। ‘म सायद देशकी स्वप्रेम (सेल्फ लभ) को उदाहरण दिने पहिलो कन्या हुँ,’ उनले सञ्चार माध्यमसँग भनिन्।
तोकिएको मितिभन्दा अघि किन विवाह गरेको भन्ने प्रश्नको उत्तरमा उनले आफूलाई ट्रोल गरिएको र विवाह गर्ने भनेर तोकिएको मन्दिरमा पनि विरोध भएको बताइन्। पण्डितले विवाह कार्यक्रममा सहभागी हुन इन्कार गरेको र सामाजिक सञ्चालमा पनि आफूले आफैंसँग गर्न लागेको विवाहबारे धेरै आलोचना भएको उनले बताइन्।
कुनै अड्चन नहोस् भनेर आफ्नै घरमा विवाह गरेको उनले स्पष्ट पारिन्। ‘म अत्यन्त खुसी छु। मलाई ट्रोल गर्नेलाई म भन्न चाहन्छु कि यो मेरो जिन्दगी हो र आफ्नै लागि यो बाटो चुनेकी हुँ,’ उनले भनिन्।
हनिमुन मनाउन गोवामा एक्लै जाने तयारी गरिरहेको उनले बताइन्। विवाहको रीतिरिवाज सम्पन भएपछि उनले भनिन्, ‘म अत्यन्त खुसी छु। अन्ततः म विवाहित बनेकी छु।’ उनले ऐनामा आफैंले आफैंलाई चुम्बन गरेको फोटो सार्वजनिक गरेकी छन्। विवाह सम्पन्न भएपछि उपस्थितजन ‘लन्डन ठुमुकदा’ नामक गीतमा नाचेका थिए।

