एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाबीचको नयाँ सिजन अघिको ‘एल क्लासिको’ को मिति तय भएको छ ।
सिजन शुरु हुनुअघि अमेरिका भ्रमणमा रहँदा यि दुई टोली रियल र बार्सिलोनाले लस भेगासमा २३ जुलाईमा खेल्ने तय भएको छ । अमेरिकी भुमिमा बार्सिलोना र रियलले दोस्रोपटक खेल्न लागेको हो । यसअघि रियल र बार्सिलोनाले ६४ हजार दर्शक क्षमताको हार्ड रक स्टेडियममा खेलेको थियो ।
यसपटकको खेल ६५ हजार दर्शक क्षमताको एलिजाइन्ट स्टेडियममा हुनेछ । नयाँ सिजनको लागि बार्सिलोनाले हालसम्म कुनै खेलाडी अनुबन्ध गरेको छैन । टोलीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले भित्र्याउने प्रयास गरिरहेको छ । टोलीसँग फेरान टोरेस, अन्सु फाती, पिएरे इमरिक औजामियाङ, पाब्लो गाभी र पेड्रीलगायतका खेलाडी रहेका छन् ।
यता, रियलले यो सिजन फ्रान्सेली स्टार केलियन एमबाप्पे र नर्वेजियन एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्न नसकेपनि फ्रान्सका युवा प्रतिभावान् मिडफिल्डर ओरेलिएन चुवामेनी र एन्टेनियो रुडिगरलाई अनुबन्ध गरिसकेको छ ।
अघिल्लो सिजन उच्च प्रदर्शन गरेका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा, ब्राजिली युवा विंगर भिनिसियस जुनियर पनि टोलीमा रहेका छन् ।
यि दुई टोलीको पछिल्लो ४१ खेलको नजितामा बार्सिलोना १६ खेलमा तथा रियल १५ खेलमा विजयी भएको छ । १० खेल बराबरीमा सकिएको छ । गत सिजनको क्लासिकोको एक खेलमा बार्सिलोनाले ४–० को सानदार जित दर्ता गरेको थियो । त्यसअघिको ५ भेटमा बार्सिलोनालाई हराउन सकेको थिए । जसमा पाँच जित (एक टाइब्रेकर) र एक बराबरीको नतिजा छ ।
रियलसँग खेलेको चार दिनपछि बार्सिलोनाले इटालियन क्लब युभेन्ट्ससँग २६ जुलाईमा डालासमा खेल्नेछ । यि दुई खेलको अलवा बार्सिलोनाले अमेरिका टुरमा १९ जुलाईमा इन्टर मियामी एफसी र ३० जुलाईमा न्युयोर्क रेडबुल्ससँग खेल्ने तालिका छ ।
जाभी हर्नान्डेजको टोलीले ४ जुलाईमा प्रि–सिजन प्रशिक्षण सुरु गर्ने तालिका छ । सुरुवातमा उनीहरुको मेडिकल परिक्षण हुनेछ । त्यसपछि टोली अमेरिका भ्रमणमा निस्कनेछ ।