काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष ओलीको निर्देशनसँगै पार्टीको विभिन्न तहको बैठक बस्ने र आगामी रणनीतिबारे केन्द्रित भएर छलफल सुरु भएको छ ।
‘अध्यक्ष कमरेडले स्थानीय चुनावमा घेराबन्दीका बाबजुद पार्टीले लोकप्रिय पहिलो मत प्राप्त गरेकाले त्यसमा उभिएर आगामी निर्वाचनबाट बहुमत प्राप्त गर्नेगरी काममा खट्न निर्देशन दिइसक्नुभएको छ,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन् ।
आइतबार बसेको केन्द्रीय कार्यालय बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबारे समीक्षासहित आगामी निर्वाचनबारे छलफल भएको छ । महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू रहने एक केन्द्रीय कार्यालय रहेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरूको सहभागिता रहेको थियो ।
सो बैठक सम्पन्न भएसँगै सोमबार केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासँंगै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन’bout छलफल हुने उपाध्यक्ष शाक्यले राजधानीलाई बताइन् ।
एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विगतको निर्वाचनभन्दा पालिकामा सत्तारूढ पाँच दलीय गठबन्धनसँग हार बेहोरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत पाँच दलीय गठबन्धन कायम नै रहने भएपछि कसरी निर्वाचनमा विजयी हुने भन्नेबारेमा छलफल सुरु भएको हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनअघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।

