काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा ठूलो नैतिक दवावमा परेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राजीनामा दिन सुझाएपछि शर्मा नैतिक दवावमा परेका हुन्।
सोमबार बिहान सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएको थियो। सो खबर आएपछि अर्थमन्त्रीको सर्वत्र आलोचना भइरहेको छ।
सोमबार संसदमा समेत सो बारे कुरा उठेको थियो। नेकपा एमालेका सचिव योगेश भट्टराईले त शर्मा माथि राष्ट्रघातको आरोप समत लगाएका थिए। बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले शर्माको राजीनामा समेत माग गरेका थिए।
सर्वत्र आलोचना हुन थालेपछि प्रचण्डले शर्मालाई राजीनामा दिन सुझाव दिसकेको बताइन्छ। प्रचण्डको सचिवालय निकट श्रोतका अनुसार प्रचण्डले शर्मालाई खुमलटारमा बोलाएरै राजीनामा दिन सुझाव दिएका थिए।
प्राप्त जानकारी अनुसार बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताको सम्बन्धमा प्रचण्डले शर्मासँग जवाफ मागेका थिए। जवाफमा शर्माले खासै ठूलो गल्ती नगरेको बताएका थिए। प्रचण्डले शर्मालाई आइतबार नै राजीनामा दिन सुझाएको थिए। बजेट निर्माणमा बाहिरी व्यक्तिहरुको संलग्नता भएको सम्बन्धमा प्रचण्डलाई गठबन्धन तथा पार्टीका नेताहरुले जानकारी गराएको बताइन्छ।