काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता भएको छ । नेता श्रेष्ठले आइतबार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटेका हुन् । ओलीका प्रेस सहयोगी रामकृष्ण बजगाईंले पनि दुई नेताबीच भेट भएको पुष्टि गरेका छन् ।
ओली र श्रेष्ठबीच करिब दुई घण्टा छलफल भएको स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि वाम गठबन्धनको चर्चा चलिरहँदा भएको अध्यक्ष ओली र नेता श्रेष्ठबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
यद्यपि, एमाले र माओवादी केन्द्र दुबै पार्टीका शीर्ष नेताहरूले वाम गठबन्धनको सम्भावनालाई नकार्दै आएका छन् । दुबै पार्टीका अन्य शीर्ष नेताहरूलाई समेत कुनै जानकारी नदिई ओली र श्रेष्ठबीच भेट भएको बताइएको छ ।
दुई नेताबीचको भेटका क्रममा वाम गठबन्धनभन्दा पनि देशको परराष्ट्र नीति र विदेशी चलखेलको विषयमा छलफल भएको स्रोतले जनाएको छ । बजागार्इंले पनि अध्यक्ष ओली र नेता श्रेष्ठबीच परराष्ट्र नीतिबारे छलफल भएको जनाएका छन् ।
उनले वाम गठबन्धनको विषयमा भने ओली र श्रेष्ठबीच के कुराकानी भयो भन्ने विषयमा आपूmलाई जानकारी नभएको बताए । ‘देशमा असंलग्न परराष्ट्र नीति छ तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ’, बजगाईंले भने ।
अमेरिकी सहयोग परियोजना एमसिसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीतिज्ञ र नेताहरूको भ्रमण बाक्लिएको छ । स्रोतका अनुसार, पछिल्लो समय मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता सहमत देखिएका छन् ।नेता श्रेष्ठ खासगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएपछि बढिरहेको अमेरिकी गतिबिधिबाट रुष्ट देखिएका छन् ।
एमसिसी पारित भएपछि चिनियाँ कूटनीतिज्ञहरूले पनि यसप्रति गम्भीर चासो राख्दै आएका छन् । खासगरी उनीहरूले माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमार्फत पछिल्लो अवस्थाको बारेमा चासो राख्दै आएका आएका छन् ।
निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको विषयले पछिल्लो समय नेपाली राजनीतिलाई थप तरंगित बनाएको छ । खासगरी प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको विषयमा संसद्लाई जानकारी गराउनुपर्ने माग राख्दै आएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै एमालेका सांसद प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको विषयमा यथार्थ कुरा जानकारी गराउन माग गरेका थिए । उनले प्रधानमन्त्री देउवाले कुन पदीय हैसियतमा अमेरिका भ्रमण गर्न लागेको र भ्रमणको उद्देश्य के हो भनी प्रश्न उठाएका थिए ।ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको आरोपसमेत लगाएका थिए ।

