काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । बैठकले मन्त्री हेरफेर गर्ने जेठ २१ र २२ गतेको सचिवालय बैठकको निर्णयलाई अनुमोदान गर्ने अनुमान गरिएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनको समीक्षा गर्ने र अघिल्लो स्थायी समिति बैठकदेखि अहिलेसम्म पार्टीको सचिवालयले गरेको निर्णयको अनुमोदन गर्ने एक नेताले बताए । ‘यो पार्टीको नियमित प्रक्रिया हो । अघिल्लो बैठकदेखि अहिलेको बैठकसम्म भएका सचिवालयका निर्णयको यो बैठकले अनुमोदान गर्नेछ ।’
स्रोतका अनुसार पछिल्लो सचिवालय बैठकले मन्त्री हेरफेर गर्न गरेको निर्णयसमेत मंगलबारको बैठकले अनुमोदन गर्नेछ । त्यसो भएमा अहिलेका मन्त्रीको कार्यकाल छिट्टै सकिने छ ।
यस विषयमा जिज्ञास राख्दा एक पदाधिकारीले भने, ‘यसबीचमा सचिवालयले गरेका सबै निर्णय यो बैठकले अनुमोदन गर्नेछ । त्यसैले मन्त्री हेरफेरबारे अघिल्लो सचिवालयले गरेको निर्णय पनि यो बैठकमा पेश हुन्छ ।’ उनले मन्त्री हेरफेरको निर्णय अनुमोदान हुनेबारेमा संकेत गरे ।
यो बैठकपछि एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु हेरफेर हुने कुरा निश्चितजस्तै देखिएको छ । तर, पार्टीको सो निर्णयपछि सरकारमा रहेका केही मन्त्रीले फिर्ता नहुने भन्दै अभिव्यक्ति समेत दिएका थिए । उनीहरुको अभिव्यक्ति पार्टी निर्णयको विपरित रहेको भन्दै व्यापक आलोचना भएको थियो । केही मन्त्रीले त पार्टीले गरेको निर्णय थाहै छैन भन्दै आएका छन् ।जेठ २२ गतेको सचिवालय निर्णयपछि २३ गते बिहान त्यसै विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको थिया ।
बैठकमा मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने भन्दै तत्कालका लागि यो निर्णय स्थगित भएको थियो । बजेट पारित गर्न असर पर्ने भन्दै तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेपछि मन्त्रीमण्डल पुर्नगठन तत्कालका लागि रोकिएको थियो ।
मन्त्री हेरफेर गर्न पार्टीले गरेको निर्णय थाहै छैन, यसलाई मान्दैनौ भन्ने मन्त्री र त्यसलाई कार्यन्वयन गर्न अटेर गर्ने प्रधानमन्त्रीका कारण एकीकृत समाजवादीका धेरै नेता रुष्ट छन् । ‘पार्टीले निर्णय गरेर पठाएको मन्त्री को राख्ने को नराख्ने हाम्रो कुरा हो । यहि हुनपर्छ फेर्न पादैँन भनेर प्रधानमन्त्रीले हलो अडकाउने काम गर्नुभयो, त्यो ठिक होइन,’ एकीकृत समाजवादीका एक नेताले भने ।
-सौर्य दैनिकबाट

