अस्ट्रेलिया र क्रोएसिया पठाइदिने भन्दै ठग्ने बेपत्ता, बिचल्लीमा परेकाहरू न्याय खोज्दै !

काठमाडौं । अस्ट्रेलिया र युरोपेली राष्ट्र क्रोएसिया पठाइदिने भन्दै ५३ लाख रुपैयाँभन्दा बढी ठगी गरेर एक जना फरार भएका छन् । क्रोएसियामा राम्रो रोजगारको अवसर भएको र कामदार माग भएको भन्दै बाराको सुवर्ण गाउँपालिका–२ स्थायी घर भई हाल ललितपुर बस्दै आएका दिनेश सुवेदी फरार भएका हुन् । क्रोएसियामा आफू पनि काम गर्न जाने भन्दै उनले ११ जनासँग ५३ लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि पीडितहरूको विचल्ली भएको हो ।

फरार रहेका सुवेदीले नक्कली भिषा र नक्कली वर्क परमिटसमेत पठाएको भेटिएको छ । सुवेदीले रौतहटकी निरु तामाङ (सुवेदी), सिन्धुपाल्चोककी मनिषा लामा, प्युठानकी सकुन्तला घर्तीमगर, काभ्रेका साहिद शिवभक्ती, धादिङका टीकाराम तामाङ, धादिङकै राजवीर गुरुङ, बुटवलका राजबहादुर थापा, तेज न्यौपाने, धनबहादुर बगाले मगर, मालती नेपाल र मेरी नेपाललाई ठगी गरेका हुन् । उनीहरूसँग सुवेदीले ५३ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए ।

सुवेदी ०७८ साल कात्तिकदेखि फरार रहेका छन् । सुवेदीको सकुन्तला घर्तीमगरसँग सामान्य चिनजान भएकी सिन्धुपाल्चोक घर बताउने जेनी स्यावामार्फत भेट भएको थियो । स्यावाले मेरो केटा साथी विदेशबाट आएका छन् भन्दै खाजा खान गोंगबु बसपार्क जाउँ भनी बोलाएको हुनाले गएको सुवेदीसँग भेट भएको सकुन्तलाले बताइन् । उनले भनिन, ‘सुवेदीले वैदेशिक रोजगारमा मानिसहरू पठाउने काम गर्ने गरेको र अन्य व्यक्तिसँग अस्ट्रेलिया पठाएको १७ लाख रुपैयाँ लिने गरेको भए पनि मलाई आठ लाखमै पठाइदिन्छु भनेर प्रलोभन देखाए । म पनि बेरोजगार भएको र राम्रो रोजगारीको खोजीमा भएकाले उनको कुरामा विश्वास गरेर सुरुमा २८ हजार रुपैयाँ र पासपोर्ट दिएँ ।’

सकुन्तलाले पटकपटक गरी सुवेदीलाई ६ लाख १४ हजार रुपैयाँ दिएको बताइन् । ‘त्यसपछि पटकपटक गरी सुवेदीकै हातमा १ लाख २५ हजार नगद तथा पटकपटक गरी उनको एसबिआई बैंकमा रहेको खाता नम्बर १९२१५२४१४०४७७३ मा थप पैसा पठाएँ । उनलाई मैले आइएमईमार्फत पनि पैसा पठाएँ । मैले स्वास्थ्य परीक्षण, ओरिएन्टेसनसम्मको गरी उनलाई ६ लाख १४ हजार रुपैयाँ बुझाएँ’, उनले भनिन् । रकम लिइसकेपछि सुवेदीले मोबाइल अफ गरी सम्पर्कविहीन अवस्थामा रहेको गुनासो शकुन्तलाले गरेकी छन् ।

यसैगरी पीडितमध्येकी अर्की युवती हुन्, निरु तामाङ (सुवेदी) । उनलाई करिव डेढ वर्ष पहिले उनै दिनेश सुवेदीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि निरुले पनि सुवेदी थर देखेकाले आफ्नो श्रीमानतर्फको कोही नाताको मान्छे होला भनेर रिक्वेस्ट स्वीकार गरिन् ।

‘दिनेश सुवेदीसँग कुरा हुँदै जाँदा उनले वैदेशिक रोजगारमा मानिस पठाउने काम गर्ने गरेको र आपूm पनि क्रोएसिया हुँदै पोर्चुगल जान लागेकाले सस्तो खर्चमा पोर्चुगल जाने भए सँगै जाउँ भनेकाले विश्वासमा परी उनलाई पहिलो भेटमा नगद १ लाख २० हजार रकम र उनको प्रभु बैंकमा रहेको खातामा पटकपटक गरी ३ लाख ८० हजार गरी जम्मा चार लाख रुपैयाँ बुझाएँ’, निरुले भनिन् ।

यसैगरी फरार रहेका सुवेदीले टीकाराम तामाङसँग ३ लाख ६० हजार र राजवीर गुरुङसँग ४ लाख २५ हजार रुपैयाँ लिएको पीडितहरूले बताएका छन् । फरार सुवेदीलाई मनिषा लामाले ६ लाख ४० हजार र साहिद शिवभक्तीले ५ लाख ४० हजार रुपैयाँ बुझाएको बताए ।

यसैगरी तेज न्यौपानेले आठ लाख, मेरी न्यौपानेले दुई लाख, मालती नेपालले दुई लाख, वुटवलका राजबहादुर थापाले ६ लाख र धनबहादुर बगालेमगरले पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् । ११ जनामध्ये नौ जना निरुभन्दा पछि सम्पर्कमा आएका हुन् भने शकुन्तला घर्तीमगर सुरुमै पैसा बुझाउने पीडित हुन् ।

सुवेदीले केही समय पहिला भिषा आयो भनी पीडितहरूलाई पठाएकोमा ती भिषाहरू नक्कली रहेको समेत रहस्य खुलेको छ । पीडितहरूका अनुसार पासपोर्ट र पैसा तुरुन्तै फिर्ता गर्नुस्भन्दा अटेरी गरी बसेको र यही जनवरी १०, २०२२ का दिन दिल्लीबाट काठमाडौं आउने बसमा सकुन्तला घर्तिमगर बाहेकका अन्य पीडितहरूको पासपोर्ट काठमाडांै–दिल्ली बस काउन्टर स्वयम्भूमा पठाएका थिए ।

६ महिनाको अवधिमा सबै जनासँग पैसा लिएका सुवेदीले चार वटा सिम बोक्ने गरेको खुल्न आएको छ । दिनेश फरार हुनुभन्दा अगाडि दिनेशकी श्रीमती जमुना सुवेदीले पनि दुवईबाट कुरा गर्ने गरेको तर, दिनेश फरार भएपछि जमुनाले दिनेशसँग सम्बन्धविच्छेद भइसकेको भन्दै पीडितहरूलाई उल्टो थर्काएको समेत पीडितहरूले सुनाए । जमुना सुवेदीले दुबईमा ब्युटीपार्लर सञ्चालन गरिरहेकी छन् ।

आफू ठगिएको थाहा पाएपछि प्रहरीमा गएका पीडितहरूले प्रहरीले पनि जाहेरी दर्ता नगरी वैदेशिक रोजगार विभागमा जान भनेको गुनासो गरे । पछि वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेको छ । विभागले रकम लिएर फरार भएका दिनेश सुवेदीलाई पक्राउ गरेर उपस्थित गराउन पत्र पठाएपछि प्रहरीले खोजी गरेको थियो ।

वैदेशिक रोजगार विभागले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका बारा जिल्ला कवहिगोठ गाविस–६ हाल परिवर्तित सुवर्ण गाउँपालिका–२ घर भई ललितपुर उपमहानगरपालिका–५ महालक्ष्मीस्थानमा लुकिछिपी बस्ने दलबहादुर सुवेदीको नाती, ज्ञानबहादुर सुवेदीको छोरा वर्ष ४० को दिनेश सुवेदीलाई खोजतलास गरी पक्राउ गरी यथासक्य वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ (५) बमोजिम अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

बारा र ललितपुरमा खोजी गर्दा नभेटिएको भन्दै प्रहरीले वैदेशिक रोजगार विभागलाई पत्रसमेत पठाएको छ । पत्रमा प्रहरीले सम्भावित स्थानहरूमा खोजतलास गर्दा नभेटिएको उल्लेख गरेको छ । पीडितहरूले सुरुमा अपराध महाशाखा नयाँबानेश्वरमा पनि निवेदन दिएको बताए ।

-सौर्य दैनिकमा 

प्रकाशित : बुधबार, असार ०८, २०७९०८:५५

ओलीले भने – ‘भारतसँग आफ्नो गोल फिर्ता माग्नु सम्बन्ध बिगार्नु होइन’