घोराही – महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो ।
बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन् । प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहेकी छन् ।
विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो सयम विद्यालय नमूना बनेको छ ।
“शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ ।” उनी भन्छिन्, “विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन् ।”
विद्यालयमा सबै प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । “हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक कर्मचारी, एक कार्यालय सहयोगी सबै महिला छौँ ।” उनले भन्छिन्“विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।”
महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन् । बालबालिका स्वतन्त्ररुपमा अध्ययन गर्न पाएको छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन । अर्को शिक्षिकाले कक्षा हेर्नुहुन्छ वा विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ ।
सहायक प्रधानाध्यापक विमला अधिकारीले प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दाबी गरिन् । “सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पुरा गर्नुहुन्छ, ” उनले भनिन् ।
“हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन,” सहायक प्रअ अधिकारीले भनिन्, “एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौँ त्यसैका आधारमा काम गर्छौं ।”
उनी अगाडि थप्छिन्, “म गणित र विज्ञान विषयको शिक्षक हो, पहिलेपहिले त मान्छेहरु महिलाले मात्र कसरी र कस्तो विद्यालय चलाउलान् भनेर कुरा गर्थे, आजकाल हाम्रो काम देखेर प्रशंसा गर्छन् खुशी लाग्छ ।”
दाङको नमूना विद्यालय हो । महिलाले नेतृत्व पाएमा गर्न सक्छन् भन्ने कुराको उदाहरण आफूहरु बनेको त्यहाँ कार्यरत महिला शिक्षिका बताउँछन् । जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको दाबी गर्छन् उनीहरु । शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारीअनुसार दाङका अन्य विद्यालयमा महिला प्रधानाध्यापक पनि छन् तर सबै महिलामात्रै भएको विद्यालय अरु छैन ।
अहिले जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहेका छन् । खैरा माविमा सबै महिला भएको कारणले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम बताउँछन् ।
उनले विद्यालयको आर्थिक पारदर्शिता सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको जानकारी दिए । खैरा मावि बालमैत्री विद्यालयको रुपमा गत वर्ष नै घोषणा भएको थियो ।