पेरिस सेन्ट जर्मेन (पीएसजी)का विंगर तथा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले आफ्ना पुस्ताका उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरुसँगै खेलका छन्। उनले लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो देखि नयाँ स्टार मानिने किलियन एम्बाप्पे जस्ता स्टार खेलाडीहरु सँगै ‘पिच शेयर’ गर्ने मौका पाए।
हाल पेरिस सेन्ट जर्मेन (पीएसजी)मा स्टार खेलाडीहरु नेयमर र एम्बाप्पेसँगै खेलिरहेका मारियाले ज्लाटान इब्राहिमोभिक, वायने रुनी जस्ता खेलाडीहरुसँग पनि एकै टिममा रहेर खेले।
विश्वका उत्कृष्ट खेलाडीहरुसँग खेलेको अनुभवका बाबजुत आफूलाई मेस्सी उत्कृष्ट लाग्ने मारिया बताउँछन्। एक अर्जेन्टिनी खेल च्यानलसँग अन्तर्वार्ता दिनेक्रममा मारियाले नेयमर, रोनाल्डो, इब्राहिमोभिक, रुनीबाट उत्कृष्ट खेलाडी छान्न परे मेस्सीको नाम लिने बताए।
“चार मध्ये लियो उत्कृष्ट हुन्। क्रिस्टियानो एक ‘मोन्स्टर’ हुन्। नेयमार ब्राजिलियन हुन्, जब उनी खेल्छन् रमाइलो हुन्छ।”,उनले थप भने,”इब्राहिमोभिक चाहिं पूर्ण चरित्र हुन्। मैदानमा खराब मान्छे देखिएपनि उनी वास्तविकता भने धेरै राम्रा छन्।”
रुनी भने आफूले सोचेको भन्दा फरक खेलाडी पाएको उनको अनुभव छ। रुनी बलियो नदेखिएपनि वास्तविकता त्यसो नभएको उनले बताए।
“सँगै खेलेका उत्कृष्ट खेलाडीहरुबाट एक खेलाडी छान्न मेरा लागि सजिलो त छैन, तर म एकको नाम लिनै पर्यो भने त्यो नाम लियोनेल मेस्सीको हुन्छ।”,उनले भने।
मारियाले उक्त अन्तर्वार्ताको क्रममा किलियन एम्बाप्पे भविष्यमा विश्वकै उत्कृष्ट खेलाडीको रुपमा उदाउने प्रक्षेपण समेत गरे। हालको लयलाई निरन्तरता दिइरहे एम्बाप्पेले विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्ने उनको विश्वास छ।
“एम्बाप्पे उच्च स्तरको खेल प्रदर्शन गर्ने खेलाडी हो। उ शान्त पनि छ। अहिले सम्म धेरै कुरा हाँसिल गरिसकेको उसले भविष्यमा धेरै कुरा हाँसिल गर्न सक्छ।”,एम्बाप्पे बारे थप उनले भने,”अहिलेकै लय कायम रहेक उसलाई ब्यालोन डी ओ’र जित्नबाट कसैले रोक्न सक्दैन।”
-एजेन्सी