मेस्सीको पासमा फातीको लगातार दुई गोल, रियल म्याड्रिडसँगको अंक दुरी घट्यो !

काठमाडौं – युवा फरर्वाड अन्सु फातीको दुई गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार लेभान्तेलाई २-१ ले पराजित गरेको छ ।

खेलको सुरुवातदेखि नै बार्सिलोनाले लेभान्तेमाथि दवाव कायम गरेको थियो । खेल अवधिभर लेभान्तेले पनि पटक पटक बार्सिलोना डिफेन्सलाई दवाव दिएपनि सान्तवना गोलस्वरुप अन्तिम मिनेटमा मात्र गोल गर्न सक्यो । सुरुवाती मिनेटमा नै कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिज्मनको प्रहारलाई गोलरक्षक आइटर फर्नान्डेजले बचाएका थिए ।

पहिलो हाफको ३० अौं मिनेटमा बार्सिलोनाले फातीको गोलमा अग्रता लिएको थियो । कप्तान मेस्सीले एकै पटक लेभान्तेका ७ डिफेन्डर बिट गरेर दिएको पासलाई फातीले एक डिफेन्डर काट्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाको अग्रता दोब्बर भयो ।

कप्तान मेस्सीकै पासमा फातीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनले मेस्सीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको पासमा गरेको शक्तिशाली प्रहार गोलरक्षक फर्नान्डेजले बचाउन सकेनन् । मेस्सीकै पासमा नेल्सन सेमेडोले बार्सिलोनालाई ३-० को अग्रता दिलाउने अवसर गुमाए ।

दोस्रो हाफमा लेभान्तेले खेलमा फर्कने अवसर पाएपनि गोलरक्षक टेर स्टेगन बाधक बनिरहे । इन्ज्युरी समयमा रुबेन रोसिनाको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपनि बार्सिलोना अग्रता कायम राख्न भने सफल भयो ।

यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँग अंकको दुरी घटाएको छ । रियलको २२ खेलमा ४९ अंक छ भने बार्सिलोनाको २२ खेलमा ४६ अंक छ ।

प्रकाशित : सोमबार, माघ २०, २०७६०३:५०

दुवै पेनाल्टीमा चुकेनन् रोनाल्डो, युभेन्टस ३-० ले विजयी !