काठमाडौँ – कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित चीनको वुहानमा रहेका विद्यार्थीलाई उद्धार गरी इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राखिने भएको छ।
चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राखिने भएको हो। चीनबाट उद्धार गरिएपछि स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उनीहरुलाई इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ।
उक्त अपार्टमेन्टको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिने सरकारको योजना छ। सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिने बारे छलफल भैरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बागमती नदी किनारमा बस्ने सुकुम्वासीहरुको लागि अपार्टमेन्ट बनाइएको थियो। २०६९ सालमा १२ करोड रूपैयाँ लगाएर तयार पारिएको उक्त अपार्टमेन्ट अहिले सम्म पनि खाली छ। अपार्टमेन्टमा एक सयभन्दा बढी फ्ल्याट छन्।
कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत छन्। त्यस क्षेत्रमा रहेका अन्य विदेशी नागरिकहरुको सम्बन्धित देशहरुले उद्धार गरिसकेको हुँदा नेपाली विद्यार्थीहरुको पनि तत्काल उद्धार हुनुपर्ने माग भैरहेको छ।
कोरोना भाइरसको संक्रमणले आतंक मच्चाएको हप्तौं बितिसक्दा पनि नेपालीहरुको उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आलोचना समेत भएको छ।
नेपाली विद्यार्थीहरुको उद्धारका लागि सरकारले २ वटा जहाज तयारी अवस्थामा राखेको भएता पनि उनीहरुलाई कहाँ राख्ने भन्ने टुंगो लाग्न नसक्दा उद्धारकार्य प्रभावित भएको बताइन्छ।