कुखुराको मासु र लसुनको मूल्यले रुवायो: ह्वातै मूल्य बढ्दा रेकर्ड तोडियो ! [मूल्य सहित]

काठमाडौं । लसुन र बोइलर कुखुराको मासुको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । प्याजको मूल्य वृद्धिको मार खेपिरहेको केही समयमै लसुन र बोइलर कुखुराको मासुको मूल्य वृद्धि भएपनि उपभोक्ता पुनः मारमा परेका हुन् । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि ०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय रहेको देखिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन् । किसानसँग सस्तोमा किनेर कोल्ड रूममा राखेको फ्रोजन मासुसमेत ठूला व्यापारीले किलोको तीन सय ६० रुपैयाँ भन्न थालेका छन् । असोजदेखि मंसिरसम्म ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मूल्य दुई सय २० को हाराहारीमा थियो । यस्तै, पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोग ब्याधीबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।

कुखुराको मूल्य नबढेपछि नेपाल ह्याचरी संघको नेतृत्वमा जिउँदो चल्ला र अण्डा नष्ट गर्ने काम भयो । व्यवसायीहरुले १५ करोड बराबरको ३० लाख चल्ला र ५० करोड बराबरको अण्डा नष्ट गरे । कृषकको घरघरमा, फर्मफर्म गएर चल्ला नष्ट गरियो । यसको उद्देश्य बजारमा कुखुराको उत्पादनलाई नियन्त्रण गर्दै मासुको मूल्य वृद्धि गर्नु थियो । अन्ततः व्यवसायीले जुन उद्देश्यले अभियान चलाएका थिए, त्यो पूरा भएको छ । चिकेन होलिडेको प्रभाव अहिले मासुमा देखिएको छ ।

बजारमा मासुसँगै लसुनको मूल्य पनि आकासिएको छ । थोकमा दुई सातामै प्रतिकिलो २ सय रुपैयाँले मूल्यवृद्धि भएको छ । माघ ६ गते थोकमा लसुनको मूल्य प्रतिकिलो ३१० देखि ३२० रुपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रुपियाँ प्रतिकेजी पुगेको छ । खुद्रामा यो मूल्य ५४० देखि ५५० रुपैयाँसम्म रहेको कालिमाटी फलफुल तथा तरकारी बजार समितिले जनाएको छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघटने उनीहरूको भनाइ छ ।

तर यता उपभोक्ताबादीले अहिले बजारमा मासु र लसुनको मूल्य बढनु प्रमुख कारण कालाबजारी गर्नेको चलखेल रहेको बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन विगतदेखि कालो बजारी गर्न पल्किएकाहरूको कारण बजारभाउ आकासिएको दाबी गरेका छन् । चिनमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै व्यापारीहरूले कालोबजारी गरिरहेको आरोप लाग्न थालेको छ ।

केही समयअघि कुखुराको चल्ला मार्ने काम नियोजित रूपमा गरिएको भन्दै कालोबजारीका माफियाहरूलाई कारबाही नगरेसम्म यो चलिरहने अध्यक्ष महर्जनको भनाइ छ । सरकारलाई असफल बनाउन केही राजनीतिकदल माफियासँग मिलेर कालोबजारीमा लागेको समेत उनले दाबी गरे । ब्रोइलर कुखुराको मासु र लसुनको मूल्य आकासिएको त अहिले हो । हरेक क्षेत्रमा बिचौलियाको कारण उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको हुन्छ । उत्पादनकर्ताले लागतसम्म उठाउन पाइरहेका हुँदैनन् । उपभोक्ताबाट चर्को मूल्य लिने र उत्पादनकर्तालाई कम दिएर बिचौलिया मालामाल भइरहेका हुन्छन् ।

यता कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेल ठूला कोल्ड स्टोरका विचौलियाका कारण मासुको मूल्य आकासिएको आरोप लगाउँछन् । विगतदेखि कोल्ड स्टोरका मालिकहरूले किसानसँग कुखुरा छैन भनेर मूल्य बढाउने गरेको आरोप छ । मासुको मूल्य बजारमा सन्तुलन राख्न ठूला कोल्ड स्टोरका विचौलियालाई सरकारले कारबाही गर्नुपर्ने अध्यक्ष पौडेलको जोड छ । किसानले जहिले पनि बजार मूल्य नपाउने र विचौलियाहरू सधँै मोटाउने रहेको अवस्था रहँदै आएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०४:०१

नेकपाको एमसिसी कार्यदलमा किचलो: एमसिसी संसद्बाट पारित गरेरै छाड्ने पक्षमा सरकार !