काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले बालुवाटार जग्गा प्रकरणमा विजय गच्छदारलाई मुद्दा चलाएर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई बचाइएको प्रति आपत्ति जनाएका छन्।
प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता महतले नेकपा नेता नेपाललाई जोगाएर नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई मात्र मुद्दा चलाइनु गलत भएको बताए।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको क्याबिनेटबाट पास भएको निर्णयमा मन्त्री रहेका गच्छदारलाई मात्र दोषी देखाइनुलाई राजनीतिक पूर्वाग्रहको रुपमा बुझेको नेता महतले बताए।
यस्तै नेता महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संयुक्त राष्ट्र संघले अनुमोदन गरेको विषय रहेको हुँदा बिना विवाद लागू गरिनुपर्ने बताएका छन्।
एमसिसी बारे वास्तविक कुरा थाहा नभई बिना कारण विवाद शिर्जना गरिएको नेता महतको बुझाई छ। जनतामा भ्रम फैलाउने गरी काम भएको उल्लेख गर्दै उनले आपत्ति जनाए।
निश्चित मापदण्ड पूरा गरेका मुलुकमा एमसिसी लागू गरेर वर्षमा ५ अर्ब डलर दिने भनिएको हुँदा यस विषयमा राष्ट्रियताको कुरा निकालेर विवाद शिर्जनु गर्नु उचित नहुने उनको बुझाई छ।
“यो संयुक्त राष्ट्र संघले अनुमोदन गरेको विषय हो। वर्षमा ५ अर्ब डलर दिने कुरा हो। त्यो पनि निश्चित मापदण्ड पूरा गरेका मुलुकमा एमसिसी लागू गर्ने भनिएको छ। यहाँ कतै नभएको राष्ट्रियताको कुरा निकालिएको छ। “,उनले भने।