काठमाडौँ – चट्याङ लागेर दाङमा शनिबार तीन जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानपालिमा चट्याङ लागेर शनिबार दिउँसो तीन जनाको ज्यान गएको हो।
चट्याङ लागेर तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुई र उपमहानगरपालिका–९ हापुरमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
तुलसीपुर उपमहानपालिका–७ नवलपुर स्थित गीता चौधरीको घर र उपमहानगरपालिका–९ हापुरमा सूर्यबहादुर पुरीको घरमा शनिबार दिउँसो चट्याङ परेको बताइएको छ।
प्रहरीका अनुसार चौधरीको घरमा चट्याङ पर्दा चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्य ज्यान गएको छ। दुवैको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
यस्तै सूर्यबहादुर पुरीको घरमा चट्याङ पर्दा सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै ज्यान गएको हो। बताइएअनुसार, चट्याङ पर्दा ताराबहादुर देवपुरी घरको आँगनमा खेल्दै थिए।