टाउकोको पछाडि अर्को टाउको: उपचार गर्न पैसा छैन, खोज्दा ऋण पाएनन् !

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका–४ मन्घरकी २१ वर्षीया लक्ष्मी विकले मंगलबार बिहान ११ बजेतिर पहिलो सन्तानको रूपमा घरमै छोरीलाई जन्म दिइन् । २२ वर्षीय पति गोपाल विक एक महिनाअघि मात्र वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

घरमै छोरीको जन्म दिएकी लक्ष्मी समस्यामा परेकी छन् । छोरीको जन्म दिएकी लक्ष्मी छोरीको टाउकोमा अर्को टाउको पछाडिबाट जोडिएको कारणले समस्यामा परेकी हुन् । समस्या गरिबलाई नै पर्ने गरेको उनी बताउँछिन् । लक्ष्मीले भनिन्, ‘हुनेखानेहरूलाई कति खेर समस्या आउँछ थाहा हुँदैन उनीहरू केसैलाई थाहा नै नदिएर उपचार गरेर सकुशल हुन्छन् तर हामीजस्ता गरिबलाई समस्या पर्दा कसले हेर्ने ? उपचारको लागि समस्यामा परेकी छु ।’

टाउकोको पछाडि भागमा अर्को टाउको जस्तै जोडिएको हेर्न आउनेको भीड लागेको देख्दा जन्म दिने आमा र परिवारजनले झनै खिन्नता महसुस गरेका छन् । यता लक्ष्मीका पतिलाई वैदेशिक रोजगारीका लागि राहदानी निकाल्न, अन्तर्वार्ता, मेडिकल गर्न र दुबई उडान समेत पटकपटक काठमाडौं आउजाउ गर्न दुई लाखभन्दा बढी ऋण लागेको वेला नवजात शिशुको उपचार गर्न ऋण खोज्दा नपाएको लक्ष्मीकी सासु रत्ना कामीले बताइन् ।

दैनिक मजदुरी गरेर नौ जनाको परिवार धानिएका लक्ष्मीका ससुरा दिलबहादुर कामीसमेत अहिले चिन्तामा छन् बच्चाको उपचारका लागि नेपालगञ्ज वा काठमाडौंमा नसा रोग विशेषज्ञ कहाँ पुर्याए मात्र उपचार हुने वा नहुने निश्चित गर्न सकिने सल्लाह पाइएको तर परिवारजनले ऋण खोजेर समेत नपाएको कारण उपचार प्रक्रियाको काम सुरु नभएको छिमेकी मिलन विकले बताए ।

जगनाथ स्वास्थ्यचौकीमा गर्भवती भएदेखि चारपटक नियमित रूपमा जचाँएको तर मंगलबार अकस्मात् व्यथा लागेर तुरुन्तै बच्चा जन्मिएको कारण घरमै सुत्केरी गराइएको परिवारजनले बताएका छन्

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०२:५७

कोरोना भाइरसविरुद्धको तयारी: संक्रमण देखिए ‘लक डाउन’ !