जब हालान्डलाई गिज्याउन सिङ्गो पीएसजी उत्रियो…

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्नेक्रममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बुधबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गर्यो।

जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्यो। पीएसजीको जितमा स्टार खेलाडी नेयमार र जुवा नबर्नाटले एक-एक गोल गर्यो।

पीएसजीलाई लगातार दवावमा राखेता अनि डर्टमन्डको तर्फबाट कुनै पनि खेलाडीले गोल गर्न सकेनन्। युवा स्टार अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोका प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले विफल पार्दा डर्टमन्ड च्याम्पियन्स लिगबाट नकआउट हुन पुग्यो।

विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको कारण उक्त खेल ‘क्लोज डोर’ मा सम्पन्न भएको थियो। पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा रंगशालामा खुसियाली मनाउने दर्शकको उपस्थिति थिएन। तर, पीएसजीका खेलाडीहरुले डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डको ‘गोल सेलेब्रेसन’को नक्कल गर्दै खुसियाली मनाए।

हालान्डले गर्दै आएको ‘योगा गोल सेलेब्रेसन’ नेयमार, एम्बाप्पे देखि पीएसजीका अन्य खेलाडीहरुले पनि प्रयोग गर्दै खुसियाली मनाए। सामाजिक संजालमा समेत पीएसजीका खेलाडीहरुले ‘योगा गोल सेलेब्रेसन’को नक्कल गरेका भिडियो तथा तस्विरहरु देखा परेका छन्। हुन त, नेयमारले गोल गरेपछि नै योगा गोल सेलेब्रेसन’को नक्कल गरेका थिए।

नेयमारले सामाजिक संजाल इन्स्टाग्राम मार्फत पनि हालान्डको मजाक बनाएका छन्। नेयमारले ‘योगा गोल सेलेब्रेसन’को नक्कल गरेको एक तस्विर सहित “पेरिस तिम्रो होइन हाम्रो शहर हो’ भनेर क्याप्सन पनि राखेका छन्।

नेयमार तथा पीएसजीका खेलाडीहरुले हालान्डलाई गिज्याएको भन्दै अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ। धेरैले विश्वका ठूला खेलाडी भनिनेहरुले एक युवा खेलाडीलाई गिज्याउनुलाई धेरै जस्तो खेलप्रेमीहरुले ठीक मानेका छैनन्।पीएसजीका खेलाडीहरुले हालान्डलाई गिज्याउनुले विश्व फुटबलमा हालान्डले कस्तो प्रभाव पारिसकेका छन् भन्ने कुरा प्रष्ट बनाएको धेरैको बुझाइ समेत छ।

प्रकाशित : शनिबार, चैत ०१, २०७६०८:३८

सस्तिए नेयमार, बेच्न पीएसजी तयार ! बार्सिलोनाले किन्ने सम्भावना कति ?