हेटौँडा – वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।
रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र निर्माण सामग्रीका लागि सहज आपूर्ति तुल्याउन पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवेलाई सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी आव २०७७/७८ मा कार्यान्वयन गर्नेगरी काम अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।
यही शुक्रबार उहाँकै कार्यकक्षमा मकवानपुरका उद्यमी व्यवसायी, सर्वसाधारण नागरिक र हेटौँडा–काठमाडौँ रोपवेका पूर्वकर्मचारीले भेटघाट गरी उक्त रोपवे लाइनलाई चाडै सञ्चालन गर्न सुझावसहित माग प्रस्तुत गरेका थिए । हेटौँडा उपमहनगरपालिका–१ चौकीटोलमा स्थापित देशकै एकमात्र पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन विगत एक दशकदेखि बन्द रहँदै आएको छ ।
कोरना भाइरसबाट बच्न जागरणमूलक सफाइ अभियान
वाग्मती सफाइ महाअभियानलाई कोरना भाइरसविरुद्ध जनचेतना फैलाउन उपयोग गर्न थालिएको छ । सफाइ महाअभियानको ३५७औँ हप्तामा आज सिनामङ्गल पुल क्षेत्र वरपर घरआँगन, सडक, नदीलगायत स्थल सफा राखौँ भन्दै जागरण गरिएको छ ।
तीनवटै सुरक्षा निकायलाई गत हप्ताको सफाइ अभियानदेखि नै नआउन भनिएको छ । सुरक्षा निकाय भाइरसविरुद्ध लड्ने क्रममा अन्यत्र व्यस्त हुनुपर्ने भएकाले नआउन भनिएको हो । धेरै मानिस जम्मा हुँदा कोरना भाइरसका कारण सङ्क्रमण फैलन सक्ने भएकाले निश्चित अभियानकर्मी मात्र जम्मा भएर चेतना फैल्याइएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । आजको जागरणमूलक सफाइ अभियानमा १४ संस्थाका १२० अभियानकर्मीको सक्रियता थियो ।