संसारकै सबैभन्दा अनौठो वैज्ञानिक प्रयोग, जुन अहिले ९३ वर्षपछि सम्म पनि जारी छ !

सामान्यतया कुनै पनि वैज्ञानिक केहि खोज अथवा प्रयोगको सुरु गर्दा चाहन्छ कि उक्त प्रयोग सक्दो छिटै निष्कर्षमा पुगोस् । तर, तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्नसक्छ कि अस्ट्रेलियामा ९३ बर्षदेखि एक प्रयोग निरन्तर रूपमा भइरहेको छ । यो विश्वको सबैभन्दा लामो समयसम्म जारी रहेको  प्रयोग हो, जुन गिनीज विश्व रेकर्डमा पनि रेकर्ड गरिएको छ।

यो प्रयोगको नाम ‘पिच ड्रप’ हो, जुन  १९२७  मा अस्ट्रेलियाको ब्रिस्बेन स्थित  क्वीन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर थोमस पार्नेलले सुरू गरेका थिए। थोमस पार्नेल क्वीन्सल्याण्ड विश्वविद्यालयको फिजिक्सका पहिलो प्राध्यापक थिए। १ सेप्टेम्बर १९४८  मा उनको निधन भयो, तर उनले सुरु गरेको प्रयोग भने आजसम्म निरन्तर जारी नै छ।

यस प्रयोग अन्तर्गत, तार पिच भनिने तरल पदार्थ फ्लास्कमा राखिन्छ र यसका थोपाहरू खस्नको लागि छोडिन्छ।  ‘पिच’ एक अत्यन्तै चिपचिपा तरल पदार्थको नाम हो जुन ठोस पदार्थ जस्तो देखिन्छ, तर वास्तवमा तरल हो। यो कोल तार जस्तै हुन्छ ।

यस प्रयोग सुरु गर्नुको पछाडि अनुसन्धानकर्ताहरुको मुख्य उद्देश्य भनेको तार पिचको एक थोपा तल झर्न कति समय लाग्छ भनेर जान्नु थियो।  १९२७  देखि अहिलेसम्म ९३ बर्षमा, यस तार पिचको केवल ९ थोपा मात्र खसेको छ, तर  आजसम्म पनि कसैले पनि तार पिच फ्लास्कबाट खसेको देखेको छैन। यस ऐतिहासिक क्षणलाई खिच्न  एक पटक वेब क्यामेरा पनि जडान गरिएको थियो, तर अन्तिम समयमा क्यामेरा नै बिग्रिएको थियो।

डिसेम्बर १९३८ मा तार पिचको पहिलो थोपा खसेको थियो । त्यसपछि, दोस्रो थोपा फब्रुवरी १९४७  (८.२ वर्ष पछि ) , तेस्रो थोपा अप्रिल १९५४ (७.२ वर्ष पछि ) , चौंथो थोपा मे १९६२ (८.१ वर्ष पछि) , पाचौँ थोपा अगस्ट १९७० (८.३ वर्ष पछि ) , छैठौँ थोपा १९७९ (८.७ वर्ष पछि ) , आठौँ थोपा नोवेम्बर २००० ( १२.३ वर्ष पछि ) र नवौँ थोपा अप्रिल २०१४ (१३.४ वर्ष पछि ) खसेको थियो । यो विश्वास गरिएको छ कि फ्लास्कमा यति तार पिच छ कि कम्तीमा १०० बर्षसम्म यो प्रयोग जारी रहन सक्छ।

 क्वीन्सल्याण्ड विश्वविद्यालयको अलावा अक्टोबर १९४४  मा आयरल्याण्डको ट्रिनिटी कलेजमा पनि यस्तै प्रयोग गरिएको थियो जुन अहिले पनि चलिरहेको छ। त्यहाँ भने अन्तिमपल्ट जुलाई ११,२०१३  साँझ ५  बजेतिर तार पिचको थोपा फ्लास्कबाट तल खसेको थियो, जुन क्यामेरामा रेकर्ड गरियो। यो पहिलो पटक थियो जब तार पिचको थोपा तल झर्दा देखिएको थियो ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१३:३१

जब ‘बाल्टी’को लागि दुई राज्यबीच भयो भिषण युद्ध…