काठमाडौँ – सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र तथा भिड हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले यस्तो निर्णय गरेको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समिति कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि यस्तो निर्णय गरेको बताइएको छ।
बुधबार बसेको उच्चस्तरीय समितिले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। बुधबार भएको निर्णय अनुसार उक्त निर्णय ३० अप्रिल २०२० सम्म लागू हुनेछ। बताइएअनुसार, यस निर्णय लागू भए नभएको गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ।
यस्तै पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय पनि गरेको छ। साँस्कृतिक, सामाजिक तथा व्यवसायिक स्थानहरुमा २५ जना भन्दा बढी जम्मा भए नभएको बारे अनुगमन गर्न पनि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नै जिम्मेवारी दिने निर्णय गरेको छ।
बुधबार भएको निणय अनुसार सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु नबोक्ने सम्बन्धमा यातायात व्यवसायीलाई अनुरोध पनि गरिनेछ। सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आह्वान पनि गरेको छ।