विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ ।
ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार बस सञ्चालन गर्न लागेको हो । तीमध्ये दुई काभ्रेपलाञ्चोक र दुई नुवाकोट जानेछन् ।
ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
“आइतबारदेखि सञ्चालन हुने बससेवा यात्रुको सङ्ख्यामा वृद्धि भएर विस्तारै बढाउँदै लान्छौँ”, उहाँले भन्नुभयो । देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको प्रबन्ध निर्देशक गौतमको भनाइ थियो ।
विश्वमा फैलिएको कोभिड–१९को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णयसमेत गरिसकेको छ ।