कर्णाली प्रदेश सरकारले आज यहाँका तीन हिमाली जिल्लामा स्वास्थ्य सामग्री पुर्याएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्लामा पुगेर स्वास्थ्य सामग्री प्रदान गराएको हो।
तीनै जिल्लाका जिल्ला प्रशासन तथा स्वास्थ्य सेवा कार्यालय, स्थानीय सरकारका प्रमुख, राजनीतिक दलहरुको रोहवरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले जानकारी दिए।
नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरेर (व्यक्तिगत सुरक्षा सामग्री) पिपिइ, आइआर थर्मोगन, गाउन, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, स्प्रीट, एन ९५ मास्क, पञ्जालगयात अठार किसिमका उपकरण, औषधी र फारम फारम हस्तान्तरण गरिएको मन्त्री रावलले बताए। उनका अनुसार तीनै जिल्लामा बराबर परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
तीनै जिल्लामा पुग्नुभएका मुख्यमन्त्री शाहीले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रतिकार्यका लागि प्रजिअ, स्वास्थ्य प्रमुखलगायत सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन गराएका छन् । त्यसैगरी, उनले जैविक समस्याका रुपमा देखिएको कोरोनाको विरुद्ध राजनीतिक दलहरुलाई पार्टी र नागरिकलाई निजी स्वार्थभन्दा माथि उठेर जुध्नसमेत आग्रह गरे।
सामाजिक विकासमन्त्री रावललका अनुसार आजै राति कालीकोट, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, दैलेखमा स्वास्थ्य सामग्री पठाइने छ । प्रदेश सरकारले सडक पहुँच सहज नभएका हिमाली जिल्ला प्राथमिकतामा राखेर ती सामग्री आजै हवाई मार्गमार्फत त्यहाँ पुर्याएको उनको भनाइ थियो । विशेष गरी कोरोना सङ्क्रमितको उपचारका क्रममा लगाइने पिपिइ, सर्जिकल मास्क, थर्मोगनलगायत अभाव भइरहेको बेला सरकारले उपलब्ध गरेपछि जिल्लाका स्वास्थ्यकर्मी उत्साहित भएको जनाइएको छ ।
नेपाली सेनाको स्काई ट्रकबाट सोमबार गाउन एक हजार थान, आइआर थर्मोमिटर १० थान, एन ९५ मास्क, ४८० थान, सर्जिकल मास्क १० हजार थान र पञ्जा २० हजार थान सुर्खेत पु¥याइएको थियो । उक्त उपकरण सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रदेश सरकार सामाजिक विकासमन्त्री रावलको रोहवरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गराएका थिए।