सूचनाको पहुँच नहुँदा रुढीबादी जोगिन र जोगाउन समस्या

गाउँ, गाउँमा सूचनाको पहुँच नहुँदा कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन र जोगाउन समस्या भएको छ । जिल्लाका दुर्गम ठाउँमा रहेका गाउँमा सूचनाको पहुँच नभएका सर्वसाधारणहरु ‘लकडाउन’ को समयमा खुलेआम गाउँ, गाउँमा घुमेको देखिन्छ । सामुहिक रुपमा घुम्ने, देवी, देवतालाई बली दिने, तास खेल्ने र सामुहिक रुपमा मदिरा सेवन गर्नेको ठूलो भीड अझै कायम रहेको छ ।

जिल्लाको छेडागाड र नलगाड नगरपालिकासहित बारेकोट, जुनिचाँदे, शिवालय र कुशे गाउँपालिका डोल्पाको सिमाना रहेका वडाहरुमा अहिले पनि सरकारले गरेको ‘लकडाउन’को प्रभाव न्यून देखिएको छ । ‘लकडाउन’को समयमा घरायसी कामदेखि सामुहिक हुने सबै कामसमेत भइरहेको पाइएको नलगाड नगरपालिका–११ का लालबहादुर बस्नेतले जानकारी दिए। जनप्रतिनिधि र प्रहरी प्रशासनको पहुँच नभएका ठाउँमा यस्तो समस्य देखिएको हो ।

एक गाउँबाट अर्को गाउँमा जान घण्टौं लाग्ने भएकाले प्रचारप्रसारमा समेत समस्या हुँदै आएको स्थानीय सरकारको भनाइ छ । सञ्चार माध्यमबाट प्रशारण भएका सन्देशहरु आफ्नो पालिकाको नभएकाले आफूहरु ढुक्क भएको समेत बताएका छन् । आज मात्र नलगाड नगरपालिका–११ कालिका मन्दिरमा बली दिइएको छ । बली दिन आएका गोपाल बस्नेतले भने, “रोग आएपनि शहर बजार तीर आउँछ, हाम्रो गाउँमा आउँदैन, आज त्यही रोक्न भगवती माईलाई बली दिईयो हामीलाई के हुन्छ नचाहिने कुरा किन गर्ने ?”

उनी जस्तै अर्का दत्तबहादुर बस्नेतले भने, “मास्क लगाएर के हुन्छ बेकारमा, काल आए बाकसमा राखेपनि मरिन्छ, नत्र केही हुँदैन ।” उनका अनुसार देवता बिग्रिएर रोग आएको हो । उनले थप भने– आजभोलिका मान्छे देवता, आफन्त, इष्ट, मित्र कसैलाई नमान्ने भन्छन्, त्यसैले पाप धुरीबाट करायो, अरु के हुँनु ।”

जहाँजहाँ पाप बढी भएको छ, त्यहीँत्यहीँ नै बढी रोग लागेका छन्, धर्म कमाएको ठाउँमा रोग लाग्दैन भन्दै खुलेआम सर्वसाधारण गाउँमा डुल्ने काम गर्दा समस्या आइलागेको स्थानीय नारायण मल्लले बताए। रुढीबादी चेतनाका कारण भारतबाट आएका र विदेशबाट आएका सबैसँगै बसेर गफिरहेको पाइएको छ । डोल्पा त्रिपुरासुन्दरी, छल लगायतका ठाउँमा रोग नलागोस् भनि भाकल गर्नेको ठूलो भीड रहेको छ ।

देवी, देवताका मन्दिर, थानमा रोग नलागोस भनि बली दिनेको लर्को रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। स्थानीय तहको मुकाम, बजारमा ‘लकडाउन’को प्रभाव व्यापक भएको तर गाउँहरुमा भने प्रभाव शून्य रहेको छ ।

प्रकाशित : बिहिबार, चैत २०, २०७६०९:४६

विदेशबाट फर्किएका १३३ मध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा र बाकि सबै आफ्नै घरमा