भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् ।
सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारेका हुन्। ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उनले बताए।
आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उनले जानकारी दिए। उनले भने, “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।”
‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ’, मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले जानकारी दिए ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्री लगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।