सटर बन्द गरी भित्रबाट उपभोक्ता छिराएर मनपरी मूल्य असुल्न थालियो, अनुगमन सुस्त !

काठमाडौँ – बन्दाबन्दी (लकडाउन) सँगै कालाबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिले संस्थागत रुप लिएपछि घरभित्र बसेका मानिस खान नपाइने चिन्तामा परेका छन् । बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत उपत्यकाका नगरपालिकाका काठ क्षेत्रका विभिन्न स्थानमा बन्दाबन्दीका नाममा प्रहरीले अत्यावश्यक सेवाका पसल बन्द गर्न दबाब दिने गरेको व्यवसायीको भनाइ छ । प्रहरीले पसल बन्द गर्न भनेको भन्दै साहुले सटर बन्द गरी भित्रबाट उपभोक्ता छिराएर मनपरी मूल्य असुल्न थालेका हुन् ।

बूढानीलकण्ठको चुनिखेल, पैयुँटार, सिमलटार, गोकर्णेश्वरको जोरपाटी, नारायणटार, दक्षिणढोका, माकालबारी, बालुवा, सुन्ताखान, पाखाथोक, नयाँपाटी, सुन्दरीजललगायत स्थानमा यस्तो भइरहेको उपभोक्तावादी श्याम भण्डारीले गुनासो गरे। यी ठाउँका पनि मुख्य बजारभन्दा भित्री ठाउँमा बढी मूल्य लिने गरिएको छ ।

चिनी, चिउरा, तेल, नून, दाल, चामल, तरकारीलगायत अत्यावश्यक वस्तुमा यस्तो हुन थालेको हो । यी सामानमा किलोमा रु १० देखि ३० सम्म मूल्यवृद्धि भएको उनले गुनासो गरे। बजार अनुगमन गरी यो समस्याको समाधान नगरे मूल्य आकाशिने उपभोक्ताको गुनासो छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की प्रहरीले अत्यावश्यक सेवाका पसल बन्द नगराएको बताउनुहुन्छ । धेरै ठाउँमा वडा कार्यालय, टोलवासीले पसल खुल्ने समय तोकी अरु समय बन्द गर्न लगाएको सूचना आफूले पाएको उनले सुनाए।

बढी मूल्य लिएको, कृत्रिम अभाव सिर्जना गर्ने व्यापरीलाई समातेर कानूनी कारबाहीको प्रक्रियामा अघि बढाइने प्रहरीको प्रतिबद्धता छ । कागेश्वरी नगरपालिकाका गागलफेदी, आलापोट, भद्रवास, डाँछी, थली, मूलपानी, गोठाटार, शङ्खरापुर नगरपालिकाको पालुबारी, बज्रयोगिनी, नाङ्लेभारे, पटापलगायत राजधानीकै दुर्गम स्थानमा पनि यस्तो समस्या आउन थालेको स्थानीयवासीको गुनासो छ ।

बन्दाबन्दीको १८ औँ दिनसम्म यी क्षेत्रहरुम केन्द्रीय वा स्थानीय कुनै पनि सरकारले बजार अनुगमन तीव्र नबनाउँदा बजारमा मनपरी मूल्य लिने, सामान लुकाउने जस्ता गलत क्रियाकलाप हुन थालेको नाङ्लेभारका गोविन्द दङ्गालले सुनाए । स्थानीयस्तरमा नगर उपप्रमुखकै संयोजकत्वमा अनुगन समितिको व्यवस्था भए पनि त्यसले प्रभावकारी रुपमा काम गर्न नसकेको गागलफेदीका वासिन्दा जानुका ढकालले गुनासो गरे।

जनता सङ्कटमा परेका बेला सचेततापूर्वक सक्रिय हुनुपर्ने अनुगमन समितिका बारेमा नसुनेको नगरपालिकाका पीडित उपभोक्ताको गुनासो छ । सरकारले खाद्य कम्पनीबाट अनलाइन सम्पर्कका आधारमा बिक्री गर्ने भनेको सामान पनि चक्रपथभित्र हुने भएकाले त्यसबाहिरका पीडित समस्यामा पर्ने गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल बजारमा अनियमितका सूचना आउन थालेकाले बन्दाबन्दीकै बीच बजार अनुगमनको तयारी गर्न लागिएको बताउनुहुन्छ । बन्दाबन्दीका कारण सामान ल्याउने सवारी नपाउने, सामान राख्ने र निकाल्नेका कामदारको अभाव भएको भन्दै व्यवसायीले बढी मूल्य लिने थालेका हुन् । अनुगमन समिति सक्रिय हुने हो भने यस्ता घटनामा कमी आउने स्थानीयवासीको भनाइ छ ।

शङ्खरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ बढी जनघनत्व रहेको साँखु क्षेत्रमा बजार अनुगमन, अत्यावश्यक सामग्री बिक्री हुने पसल खुला गराउन लगाउने गरिए पनि नगर क्षेत्रको दुर्गम भेगमा पुग्न नसकिएको स्वीकार्नुहुन्छ । “केही व्यापारीले बढी मूल्य तिरेर ल्याएकाले मूल्यवृद्धि गरेको भन्न थालेको सूचना पाएका छौँ, दुर्गम भेगमा शनिबारदेखि नै अनुगमन शुरु गछौँ”, उनले भने। शङ्खरापुर भौगोलिकरुपमा पनि सिन्धुपाल्चोकसम्म जोडिएको दुर्गम भेग भएकाले अनुगमनमा असहज रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गरेको अनुगमनमा डिपार्टमेन्टल स्टोरमा भाउ नबढेको भेटिने गरेको छ भने साना पसलमा बढेको बताउने गरेका छन् । अनुगमनका क्रममा दुई थरी कुरा आएपछि यस विषयमा थप अध्ययन गर्न सबै वडामा अनुगमनलाई तीव्रता दिइएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले बताइन्। “केही थोक बिक्रेताले कार्टुन एवं बोरामा रु पाँचदेखि रु १० सम्म बढेको भन्दै बढी लिन थालेको पाइएको छ, बढी लिने थोक बिक्रेताको विवरण नगरपालिकामा पेश गर्न निर्देशन दिएका छौँ, सामान ढुवानी गर्न अप्ठ्यारो भए सवारीलाई नगरपालिकाबाट पास दिन्छौँ”, उनले भनिन्।

नौ वडा रहेको कागेश्वरी मनोहरा नगरपालिकाले १, २, ३, ८ र ९ मा बन्दाबन्दीपछिको अवस्थाका बारेमा अनुगमन गरिसकेको जनाएको छ । बाँकी चार वडामा पनि शनिबार पहिलो चरणको अनुगमन सक्ने जनाएको छ ।

प्रकाशित : शुक्रबार, चैत २८, २०७६१३:३७

कोरोना भाइरसको जोखिममा पनि असहाय बाच्छाबाच्छी खोज्दै सडकमा जो भौतारिन्छन्…