कोरोना भाइरस: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट ‘सिल्ड’ गरियो !

काठमाडौँ – काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा र्‍यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा र्‍यापिड डायग्रोस्टिक टेष्ट गर्दा कोरोना भाइरसको आशङ्कामा तीनै जनालाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको हो । त्यो टेष्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । परीक्षणपछि मात्र थाहा हुन्छ ।

सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशङ्का देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उनले सबै खालको तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसका साथसाथै आगलागी, चट्याङ, बाढीपहिरोबाट बच्नका लागि मन्त्रालयहरुले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले विपद्का सूचना सङ्कलन प्रभावकारी रुपमा गर्नुपर्ने, सूचनाहरुको सही रुपमा तथ्याङ्क राख्नाका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिए।

परिषद्का प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरसलगायत सबै खालको विपद्बाट हुने जोखिमका विषयमा छलफल भएको छ । बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका काँग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरु उपस्थित रहेका थिए ।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७१६:१८

कोरोनाले आक्रान्त अमेरिकामा प्रकृतिको अर्को ‘बितण्डा’, ठूलो मानवीय क्षति !