सनसिटी कोरोना: बुहारीको रिपोर्ट नेगेटिभ, कोरोना संक्रमण भई निको भैसकेको हुन सक्ने !

काठमाडौँ – कोरोना भाइरस सक्रमणको आशंका गरिएकी कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने महिलाको रिपोर्ट नेगेटिभ आएको छ।

र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएकी ती महिलाको पिसिअर परिक्षण नेगेटिभ आएको हो। कोरोना पुष्टि भैसकेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषकी बुहारी रहेकी ५२ वर्षीयको प्रयोगशाला रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

उनी सहित उनका सासू र ससुरामा सोमबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मा एन्टीबडी पोजेटिभ पाइएको थियो। एन्टीबडी पोजेटिभ देखिएपनि प्रयोगशाला रिपोर्ट नेगेटिभ आएपछि ती महिलालाई कोरोना भाइरस संक्रमण भई निको भैसकेको हुन सक्ने अनुमान गरिएको छ।

कोरोना भाइरस संक्रमण भएपछि शरीरले उत्पादन गर्ने एन्टीबडीका आधारमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)ले नतिजा देखाउने गर्छ। कोरोना भाइरस भई निको भैसकेको अवस्थामा पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) टेस्ट पोजेटिभ आउने विज्ञहरु बताउँ छन्।

सनसिटी अपार्टमेन्टमा आरडीटी टेस्ट शुरु: पहिला दीर्घरोगीमा आरडीटी टेस्ट गरिने !

कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ ।

अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरुलाई प्राथमिकता दिइएको नगर प्रमुख कृष्णहरी थापाले बताए।

स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट आइपुगेको थियो । नगरपालिकामा रहेका स्वास्थ्यकर्मी पनि सहभागी रहेको नगरपालिकाले जनाएको छ । बढी आवश्यक देखिएका व्यक्तिको पहिले परीक्षण भएपछि सङ्क्रमित व्यक्ति बस्दै आएको ‘ए ब्लक’ मा बसोबास गर्नेहरुको परीक्षण हुनेछ । उनले भने, “त्यसपछि अरू ब्लकको पनि परीक्षण गरिनेछ ।”

अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् । अपार्टमेन्ट नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको प्रमुख थापाले बताए । अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुनेछ ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०७७११:१४

आज हावाहुरीसहित पानीपर्न सक्ने: कस्तो रहला तीन दिनको मौसम ? यसो भन्छन् मौसमविद !