दुल्लु, दैलेखको आठविस नगरपालिकाले जग्गा बाँझो राख्नेको तीनपुस्ते विवरण लिइ नगरपालिकाबाट दिइने सेवासुविधा बन्द गर्ने निर्णय गरेको छ ।
कृषिजन्य वस्तुको उत्पादन गरौँ, भोकमरीबाट बचौँ’ भन्ने नाराका साथ सो नगरपालिकाले भोकमरीविरुद्ध अभियान सञ्चालन गर्ने र बाँझो जग्गा राख्नेलाई तीनपुस्ते विवरण लिइ नगरपालिकाबाट दिइने सेवासुविधा बन्द गरिने निर्णय गरेको हो ।
गतशनिबार बसेको ५१औँ बैठकले किसानलाई आवश्यकपर्ने सबै सामग्री उपलब्ध गराउने योजनाका साथ सम्भावित भोकमरीबाट जोगिन यस्तो निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतिले जानकारी दिए ।
लकडाउनका कारण उत्पन्न हुनसक्ने परिस्थितिका कारण निकट भविष्यमा भोकमरीसमेत हुन सक्ने भएकाले नगरपालिकामा रहेको जग्गा बाँझो नछोड्ने गरी खेतीबाली लगाउने नीति अवलम्बन गर्दै कृषिजन्य वस्तुको उत्पादन गरौँ, भोकमरीबाट बचौँ भन्ने अभियान सञ्चालन गरेको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।
वडागतरुपमा जग्गा, किसान, अहिले कुन कुन खेती गर्न सकिने हो । खेती गर्नका लागि बीउ, प्रविधि, सामग्री के सहयोग आवश्यकपर्ने हो सो को विवरण सङ्कलन गरी सात दिनभित्र सम्बन्धित वडाले नगरपालिकामा पेश गर्ने निर्णय गरेका छौँ ।
“कोही कसैले आफ्नो जमिन बाँझो छोडेको पाइएमा निजलाई खेती गर्न अनुरोध गर्ने, अटेर गरे खेती नगरी जग्गा बाँझो छोड्नेको तिनपुस्ते विवरण सार्वजनिक गर्ने, नगरपालिकाबाट वितरण गरिने राहतलगायतका सहायता प्रदान नगर्ने, त्यस्तो व्यक्तिलाई नगरपालिकाबाट सञ्चालित योजनाको उपभोक्ता समितिमा समावेश नगर्नेलगायत नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्रदान निर्णय भएको छ”,उनले भने ।