भोजपुर – उदयपुरमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका प्रवेश गर्ने सबै नाका शिल गरिएको छ । सिमापारिका छिमेकी जिल्लामा कोरोनाको सङ्क्रमण देखिएसँगै सोसँग सीमा जोडिएका रानीटार, बगुवा, जोगी पत्थर र मैयुङटार सीमा नाका शिल गरिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । अध्यक्ष राईले भने,“उदयपुरमा कोरोनाको सङ्क्रमण देखिएपछि हाम्रो स्थानीय तहसँग सीमा जोडिएका सम्पूर्ण नाका शिल गरेका छौँ । सीमा सुरक्षामा कडाई गरिएको छ ।”
गाउँपालिकाले काठमाडौँबाट ६ देखि ७ सम्म लगाएर हिँडेर आएका आफ्ना क्षेत्रका ३७ जना स्थानीयलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले जानकारी दिए । त्यस्तै काठमाडौँमा ज्यालादारी गरिरहेका आफ्ना नागरिकलाई गाउँपालिकाबाट गएर त्यहाँ व्यापार व्यवसाय गरिरहेका तथा अन्य नागरिकसँग मिलेर ५० जना बढीलाई राहतको व्यवस्था गरेको समेत उनको भनाइ छ ।
“हामीले यहाँका स्थानीयलाई राहतको व्यवस्था मिलाएका छौँ । काठमाडौँमा रहेका नागरिकलाई पनि राहतको व्यवस्था मिलाएका छौँअत्यावश्यक काम लागि अन्य क्षेत्रबाट आएका आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा ल्याएका छौँ”, अध्यक्ष राईले भने। उदयपुरमा कोरोना देखिएसँगै अन्य स्थानीय तहका तुलनामा आमचोक गाउँपालिका जोखिममा रहेकोले १०० बेडको क्वारेन्टाइन निर्माण गर्ने लक्ष्य भएपनि हाल सम्म ७४ बेडको क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।