काठमाडौँ – बिहिबार भोजपुरका एकजनामा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणबाट भोजपुरका एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
कोरोना भाइरस संक्रमण पुष्टि भएकामा हथुवागढीका २६ वर्षीय पुरुष रहेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणका क्रममा उनी संक्रमित भएको खुल्न आएको बताइएको छ। संक्रमित विदेशबाट आएको भनिएता पनि उनी कुन देशबाट कहिले आएको भन्ने बारे केहि पनि खुलाइएको छैन।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। बिहिबार नै उदयपुरमा ५५ वर्षीया महिला र जनकपुरमा १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको थियो।
बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवेदनशील हुन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “कुनै पनि भूमिकामा रहेका राज्यका पदाधिकारीले कुनै व्यक्ति माथि कानून विपरीत अमानवीय व्यवहार गर्न हुँदैन ।”
अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले बन्दाबन्दीको समयमा मानिसको जीउ ज्यान, औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका सहज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए। यसअघि सर्वोच्च अदालतले औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा भइरहेको व्यवस्थाको विषयमा सरकारलाई लिखित जवाफ माग गरेको थियो ।