चीनमा तयार भयो कोरोनाको भ्याक्सिन, बाँदरमा सफल परिक्षण !

एजेन्सी – कोरोनाको भ्याक्सिन परीक्षणमा चीनले ठूलो सफलता हात पारेको छ। चीनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बाँदरमा सफल परीक्षण गरेको हो।

चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले तयार पारेको कोरोनाको भ्याक्सिन बाँदरलाई सफल परीक्षण गरिएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएपछि उक्त भ्याक्सिन मानिसमा पनि परीक्षण गर्न थालिएको उक्त बायोटेक कम्पनिलाई उदृत गर्दै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

बताइएअनुसार, १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको छ। परीक्षणका लागि पहिला आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको र उनीहरुमा भ्याक्सिन चढाइएको बताइएको छ।

भ्याक्सिन चढाएको तीन हप्ता पछि स्वास्थ्य परिक्षण गर्दा बाँदरहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको साइनोभ्याक बायोटेकको दावी छ। सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि कोरोना भाइरस नदेखिएको र थोरै डोज दिइएका केही बाँदरहरुको शारिरमा हल्का मात्रामा कोरोना देखिएको साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले बताएका छन्।

पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गराएर बाँदरको रगतबाट भ्याक्सिन तयार पारिएको साइनोभ्याक बायोटेकले जनाएको छ। बाँदरमा सफल भैसकेको हुँदा मानिसमा पनि त्यसको परीक्षण सफल हुने डाइरेक्टर मेंग विनिङले विश्वास लिएका छन्।

यस परीक्षणलाई लिएर विज्ञहरुको मिश्रित प्रतिक्रिया आएको छ। यसलाई केहिले सकारात्मक उपलब्धि भनेका छन् भने केहिले थोरै बाँदरमा परीक्षण गरिएको हुँदा अहिले नै केहि भन्न नसकिने तर्क गरेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७०४:२०

उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द !