असार १३ काठमाडौँ , बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड-२०१९’ (आईफा) काठमाडौंमा संचालन हुने भएको छ। बिहिवार पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णय अनुसार ‘आईफा अवार्ड’ काठमाडौँमा हुने बताएका छन। यस कार्यक्रमको नेतृत्वको जिम्मा भने नेपाल पर्यटन बोर्डलाई दिइएको छ।
कुल १ अरबको लागतमा संचालन हुन लागेको यस कार्यक्रममा एक सय भन्दा बढी बलिउडका कलाकारहरुको सहभागिता रहने जनाईएको छ। कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडिको मैदानमा आयोजना गरिने बताईएको छ।
नेपालमा आयोजना हुन लागेको २० औँ ‘आईफा’ अवार्डको संचालन तथा व्यवस्थापनका लागि नेपाल सरकारले कार्यक्रमको ४४ करोडभन्दा बढी खर्च गर्ने निर्णय गरेको छ। हरेक संस्करण बाहिरी देशमा हुँदै आएको यो अवार्ड मलेशिया, सिंगापुर, अमेरिका, क्यानडा, श्रीलंकालगायतका देशमा भइसकेको छ । कार्यक्रम अगस्त महिनाको अन्तमा आयोजना हुने बताईएको छ।