कोरोनासँग लड्न शेष घलेले नेपाललाई गरे यति ठूलो सहयोग !

काठमाडौँ – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नियन्त्रण कोषमा एमआइटी ग्रुप फाउण्डेशन नेपालले रु तीन करोड सहयोग गर्ने भएको छ ।

फाउण्डेशनको नेपालका निर्देशक सुरेश चित्रकारले आज जारी गरेको विज्ञप्तिमा गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङद्वारा स्थापित फाउण्डेशनले कोरोना महामारी नियन्त्रणमा सङ्घर्ष गरिरहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको उल्लेख छ ।

कोषका प्रतिनिधिले आज प्रधानमन्त्री कार्यालयमा सचिव नारायणप्रसाद विडारीलाई चेक हस्तान्तरण गरेका छन् । “यात्रामा भइरहेको अवरोधका कारण स्वयं उपस्थित हुन नसकेको हुँदा प्रतिनिधिमार्फत उक्त रकम हस्तान्तरण गरेको हो”, फाउण्डेशनका अध्यक्ष शेष घलेले भने ।  यो रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग हुने उनको विश्वास छ ।”

नेपालमा आइपरेका ठूला विपद्हरु भूकम्प, नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेशनले सहयोग गर्दै आएको निर्देशक चित्रकारले उल्लेख गरे।

कोरोना कोषमा ग्यास उद्योगीको १५ लाख सहयोग

नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु १५ लाख उपलब्ध गराएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम बराबरको चेक उपलब्ध गराइएको हो ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैतमा कोष स्थापना गरेको थियो । कोषमा गत शुक्रबारसम्म कूल रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ बराबरको सहयोग रकम जम्मा भएको छ ।

मन्त्री भट्टको सचिवालयका अनुसार एलपिजी ग्यास उद्योग सङघले आज कोषमा रकम जम्मा गरेको हो । सङ्घका तर्फबाट अध्यक्ष गोकुल भण्डारीले मन्त्री लेखराज भट्टलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा पदाधिकारी समेत उपस्थित थिए।

सरकारको विशेष पहल तथा उद्योगीले सहज वितरण प्रणाली बनाएका कारण लकडाउनको समयमा समेत खाना पकाउने एलपी ग्यासको अभाव हुन पाएको छैन । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको हो । सङ्घको सहयोग रकम बुझ्दै मन्त्री भट्टले लकडाउनको समयमा समेत खाना पकाउने ग्यासको अभाव हुन नदिन उद्योगीका तर्फबाट भएको सकारात्मक पहलको प्रशंसा गरे।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७१४:५५

अन्तरराष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म बन्द !