काठमाडौँ – नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले केपी ओलीको अहंकार धेरै दिन नटिक्ने दावी गरेका छन्।
एक डिजिटल मिडियासंग अन्तर्वार्ता दिँदै महतोले जस्तोसुकै अहंकारी र निरंकुशतावादीलाई जनताले परास्त गरिसकेको हुँदा ओलीको अहंकार पनि धेरै समय नटिक्ने दावी गरेका हुन्।
“आमनागरिकले मुलुकमा सुरक्षा नपाउने भए। राज्यले, सरकारले जनताको रक्षा गर्न इन्कार गरेको हो भनेर हामीले बुझेका छौं। जनताले अब यो देशमा कसरी बाँच्ने? आफ्नो रक्षा, सुरक्षा कसरी गर्ने? सोच्ने बेला आएको छ। यसमा हामी पनि चिन्तन गर्छौँ। मलाई विश्वास छ, नागरिकले पनि जे उपचार गर्नुपर्छ आफ्नो सुरक्षाको लागि गर्छ। जस्तोसुकै अहंकारी र निरंकुशतावादीलाई त जनताले परास्त गरेको छ भने केपी ओलीको अहंकार कति दिन टिक्छ र जनताको अगाडि? जनता निरीह छैनन् भन्ने कुरा सरकारले बुझ्नुपर्थ्यो। तर दुर्भाग्य, सरकार अहंकार र निरंकुशतातर्फ निकै धकेलियो। अब जनताले देखाउँछ, सम्झाउँछ, बुझाउँछ उसलाई।”,अन्तर्वार्तामा उनले भनेका छन्।
आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई न्याय दिलाउन आफूहरु जनतामाझ जाने पनि उनले उक्त अन्तर्वार्तामा प्रष्ट बनाएका छन्। जनताको अदालत सबैभन्दा ठूलो अदालत रहेको हुँदा आफूहरु जनतामाझ जाने उनको भनाई छ।
अहिले देशमा कोरोना भाइरसको जोखिम रहेको हुँदा लकडाउनको समयभर आफूहरु चुप बस्ने र लकडाउन सकिए लगतै जनता आफैं जाग्ने उनको दावी छ।
“जनताले आफ्नो रक्षा कसरी गर्छन्? निरंकुशताविरुद्धमा कसरी लड्छन् भन्ने विगतले देखाएकै छ। विश्वमै भएको छ, नेपालमै पनि कयौैं पटक भएको छ। फेरि पनि जनताले आफैं रक्षा गर्नुपर्ने अवस्था आएको छ। तर त्यो भन्दा अगाडि कोरोनाबाट जीवन रक्षा गर्नुछ अहिले। लकडाउनको पूर्ण पालना गर्नु गराउनुछ। त्यसपछि, राज्यको तंकबाट जोगिन नेपाली जनता लाग्छन्। अहिले कोरोना कहरबाट आत्मरक्षा, त्यसपछि राज्य तंकबाट जीवन रक्षाका लागि संघर्ष गर्छौं।”,अन्तर्वार्ताको उनले भनेका छन्।