काठमाडौँ – सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ ।
राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ ।
सूचनामा भनिएको छ, “मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।”
किसानलाई राहत घोषणा गर्न आग्रह
नेपाल किसान सङ्घले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउनपछि मुलुकभरका किसानले ठूलो नोक्सानी व्योहोर्नुुपरेको उल्लेख गर्दै उनीहरुलाई राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।
सङ्घका सभापति भानुभक्त सिग्देलले सोमबार एक वक्तव्यमार्फत लकडाउनका कारण दिनभरी मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकलाई समस्या परेको, उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पुर्याउन नपाएर नष्ट गर्नुपरेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमी संकटमा परेको उल्लेख गरेका छन् ।
सरकारसँग श्रमिक किसानलाई गाँसबासको व्यवस्थापनसाथै सबै खाले किसानको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न सङ्घले अपिल गरेको छ ।
उत्पादनमा लागेका किसान मल बीउ जस्ता अति आवश्यक सामग्रीको अभावमा नयाँ उत्पादनमा लाग्न नपाएको बताउँदै अध्यक्ष सिग्देलले यसले मुलुकको समग्र अर्थव्यवस्थामा दुरगामी असर पर्ने उल्लेख गरेका छन् । सङ्घले कोरोना रोकथामका लागि लकडाउन लागु गरेर मात्र जनताप्रतिको सबै कर्तव्य पूरा नहुने भन्दै सरकारलाई किसानका समस्याप्रति गम्भीर हुन आग्रह गरेको छ ।