काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महराले सङ्कटको घडीमा राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको अवस्थामा राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन्।
हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएपनि सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र देखिएको विवादले जनतामा निरासा छाएको महराको भनाई छ।
यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने भन्दै महराले आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न आग्रह पनि गरेका छन्।
“महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले अहिले विश्व आक्रान्त वनेको छ । कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ । देश अहिले लकडाउनको अवस्थामा छ । अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ ।
अहिलेको विपम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो । मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी ।नेकपा। भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु ।”,विज्ञप्ति मार्फत महराले भनेका छन्।