दुल्लू – चार महिनादेखि बोनम्यारो रोगबाट पीडित नौमुले गाउँपालिका–५ की ३२ वर्षीया पवित्रा रेगामी मगर जिल्ला अस्पताल दैलेखको श्ययामा थलिएकी छन् । बोनम्यारो भएको पहिचान हुँदाहुँदै पनि सामान्य ज्वरोलगायत बिरामीजस्तै अस्पतालको इनडोरकक्षमा दिनहुँ अन्य बिरामीजस्तै नियमित जाँचमा आउने स्वास्थ्यकर्मीले गर्ने गर्दछन् । अरु बिरामीको व्यथा दिनहुँ निको हुँदै गएको छ भने रेगामीको झन् जटिल बन्दै गएको स्वास्थ्यकर्मी बताउँछन् ।
अरूको बिरामीको रोगको उपचार गर्दै जाँदा रोग घट्दै जाने र दिनप्रतिदिन निको हुँदै जाने गर्छन् तर उहाँको रोगको आफूहरुसँग उपचार गर्ने साधन स्रोत नहुँदा धेरै बिरामी डिस्चार्ज भएर गए पनि झन् जटिल परिस्थितिमा श्ययामा बसिरहनुभएको जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थीरप्रसाद रेग्मी जानकारी दिनुभयो । अरु बिरामी निको भएर जाँदा श्रीमतीलाई पनि घर लैजाने ठूलो इच्छा हुँदाहुँदै पनि अर्थाभावका कारण झन छट्पटिएको हेर्न विवश उनका श्रीमान दलबहादुर रेगामीले दुखेसो पोख्नुभयो ।
“उनलाई बोनम्यारो भएको समस्या थाहा छ, बाहिर लैजाने आफूसँग पैसा छैन, अलिअलि मजदुरी र आफन्त लगायतसँग मागेको पैसा सकियो, ठूला अस्पतालमा लैजान सक्ने आफूसँग पैसा छैन, त्यसैले बाँचुञ्जेल यही राख्छु र मरे घर लगेर जान्छु”, गहँभरि आँशु निकाल्दै रेगामी भक्कानिनुभयो, “पैसा नभएर उनको जीवन बचाउन सकिनँ । म गतिलो श्रीमान् हुन सकिनँ ।” यो जुनीमा आफूलाई आफैँ धिक्कार्नेबाहेक कुनै पनि विकल्प नभएको उहाँले बताउनुभयो । रेगामी दम्पतीलाई कुनै ठाउँबाट उनीहरूको सहयोग गरिदिने हात अगाडि बढेका छैनन् तर पनि जिल्ला अस्पतालको श्ययामा अझै श्रीमती घरमा लैजाने आशामा दिनरात उनको नजिक बसिरहनुभएको हुन्छ रेगामी ।
जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्त भने हामीले हाम्रो अस्पतालमा उपलब्ध सबै सेवासुविधा दिएर बाहिर लैजानुस् यहाँ सामान्यबाहेक केही गर्न नसकिने भने पनि उहाँले यही राख्नुभएको छ । आफू पनि उहाँको अवस्था देख्दा निकै दुःखी र भावुक भए पनि केही गर्न नसकिने बताउनुहुन्छ डा पन्त । हाम्रो अस्पतालमा जति राखेपनि उहाँको सामान्य उपचारबाहेक केही नहुने र ढिलोचाँडो उहाँको मृत्यु हुने निश्चित भएको पनि उहाँले बताउनुभयो ।
यस्तै चार महिनाअघिदेखि बोनम्यारोबाट सङ्घर्ष गरिरहेका यी दम्पतीमा कोही–कसैले मल्हम नलगाइदिँदा उनीहरू बेसहाराजस्तै भएर अस्पतालमा रहेका छन् तर कसैले अहिलेसम्म आफूहरुको पीडामा साथ दिन कोही नआएको बताउँछन् । गाउँ–गाउँमा सिंहदरबार आयो भन्छन् हाम्रो कोही आएन भन्दै गहभरि आँशु निकाल्नुहुन्छ बलबहादुर । तर, यो उनीहरूको पीडा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई सुनाउँदा उनी अहिले लकडाउनका कारण सहयोग गर्ने मन हुँदाहुँदै गर्न नसकिने र यो खुल्यो भने अवश्य गर्ने रासससँग बताउनुभयो ।
लकडाउन भएको ३५ दिन भयो, त्योभन्दा अगाडि कोही कसैले आफूहरूलाई सहयोग नगरेको र बरु जिल्ला अस्पताल दैलेखका सबैले सहयोग गरेको हुँदा उहाँहरुलाई धन्यवाद र यो गुण कहिल्यै नभुल्ने पनि पीडित दम्पतीले बताउनुभयो । आफूलाई बाँच्ने रहर निकै भएको हुँदा सबैले सहयोग गरी आफूलाई बचाइदिन उहाँले आग्रह गर्नुभयो । आफूलाई सहयोग गरी उपचारपछि निको भए सहयोगी सबैलाई आफूले पनि सहयोग गर्ने उहाँले गहभरि आँशु निकाल्दै रासससँग बताउनुभयो ।