रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने !

एजेन्सी – पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । रोनाल्डो पोर्चुगलबाट इटली फर्केका कारण कम्तीमा पनि दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको हो ।

रोनाल्डोसँगै ब्राजिली डगलस कोस्टा र एलेक्स सान्ड्रो पनि कम्तीमा दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइन भने फर्कने नफर्कने दोधारमा रहेको छ । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोनाल्डोसहितका खेलाडीहरु आद्दआफ्ना देश पुगेका थिए ।

रोनाल्डो मंगलबार आफ्नो घर पोर्चुगल लिस्वनको मडेरियाबाट इटाली पुगेका थिए । क्लबले आफ्ना सबै खेलाडीलाई प्रशिक्षणका लागि बोलाएपछि रोनाल्डोसहित अन्य खेलाडीहरु इटाली पुगेका थिए । इटालियन सरकारले लक डाउनको समयमा आफ्नो देशभन्दा बाहिरी देशबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाएको छ । सोही अनुसार रोनाल्डो पनि आइसोलेसनमा बस्नुपर्ने भएको हो ।

इटलीमा मार्च १० देखि लगातार लकडाउन रहेको छ । सिरी ‘ए’ क्लबले ४ मे बाट प्रशिक्षण थाल्ने बताइएको छ । त्यसलै सिरी ‘ए’ क्लबहरुले आफ्नो विदेशी खेलाडीलाई प्रशिक्षणको लागि बोलाएका थिए । सिरी ‘ए’ पुनः शुरु गर्ने भनिएपनि कुन मितिबाट हुने तोकिएको छैन ।

युभेन्टसका तीन खेलाडीमा कोरोना भाइरसको पोजेटिभ संक्रमण भेटिएको थियो । दुई खेलाडी कोरोनामुक्त हुदा अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा अझै पनि कोरोना पोजेटिभ देखिएको छ । उनको अहिले उपचार भइरहेको छ ।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७०३:३३

लिग रद्द भएपनि पिएसजी च्याम्पियन बन्ने !