काठमाडौँ – सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरूप परिवर्तन गर्ने गरी गृहकार्य शुरु गरेको छ।
मुलुकको भूगोल, सङ्क्रमणको अवस्था हेरेर वर्गीकरण गरी सोहीअनुसार लकडाउनलाई खुकुलो र कडा बनाउनुपर्नेतर्फ सरकारले गृहकार्य शुरु गरेको हो।
वैशाख २५ गते देशमा लकडाउन भएको डेढ महिना पुगिसक्ने र यति समय सम्म लकडाउन हुँदा धेरै जनजीवन धेरैनै प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने बुझिएको छ।
विज्ञहरुको सुझाव अनुसार मुलुकको भूगोल, सङ्क्रमणको अवस्था हेरेर ‘ग्रीन जोन, रेड जोन र एलो जोन’का रुपमा वर्गीकरण गरी सोहीअनुसार लकडाउनलाई खुकुलो र कडा बनाउने विषयमा सरकारले गृहकार्य गरिसकेको छ।
अहिले सम्म देशका १२ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये केहि जिल्ला कोरोना संक्रमणका बिरामी मुक्त भैसकेको छ। कोरोना भाइरस समुदायमा पुगेको उदयपुर जिल्लामा मात्रै हो।
कोरोनाबाट अति प्रभावित जिल्ला तथा भारतीय सीमा जोडिएका जिल्लालाई उच्च जोखिम अर्थात ‘रेड जोन’मा राख्ने र काठमाडौं जस्तै कोरोना संक्रमण देखिएर पनि मुक्त भएका क्षेत्रलाई कम जोखिम क्षेत्र र अहिले सम्म संक्रमण नदेखिएका क्षेत्रलाई छुट्टा-छुट्टै समूहमा वर्गीकरण गर्ने सरकारको योजना छ।
लकडाउन स्थान अनुसार खुकुलो बनाउन सकिने भएपनि स्कुल, कलेज, सिनेमा हल जस्ता भिड-भाड हुने स्थान माथि भने रोक नै लगाइने छ। देश कोरोना भाइरस मुक्त नभए सम्म लकडाउन खोल्ने योजना नरहेको यस अगाडी नै प्रकाशमा आइसकेका छन्। लकडाउनको स्वरूप केहि हद सम्म परिवर्तन गरेपनि लकडाउन खुलाउने भने सरकारको कुनै योजना छैन।