घरभाडा मिनाहा भए नभएको अनुगमन गरिने !

काठमाडौँ – गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले घरभाडा नलिन अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो ।

कोभिड–१९ का कारण प्रभावितलाई राहत दिन सरकारले सो निर्णय गरे पनि यो कार्यान्वयन भने थोरै मात्रै भएको छ । कतिपय घरबेटीले सामाजिक सञ्जालमार्फत नै आफूले भाडा नलिने उद्घोष गरिरहे पनि अधिकांश घरमा भने बहालमा बस्नेले भाडा तिरिसकेका छन् ।

धेरै जस्तो घरबेटीले भाडा मिनाहा नगरेको थाहा हुन आएपछि अब त्यस सम्बन्धमा अनुगमन हुने भएको छ। भाडा मिनाहा कार्यान्वयन भए-नभएको अनुगमन अब स्थानीय तहबाट हुने भएको हो।

दुई पसललाई कारवाही

गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई आज कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको जनाइएको छ ।

गत सोमबार विभागले टंगालमा रहेको भाटभटेनी सुपरमार्केटलाई मिठाइमा बढी मूल्य लिएको भन्दै कारवाही गरेको थियो । आफ्नो गल्तीका कारण भाटभटेनीलाई कारवाही गरेको भन्दै उक्त स्टोर्सले क्षमायाचनासमेत गरेको थियो । सार्वजनिक रुपमा नै गल्ती स्वीकार गरेको र गुणस्तरहीन खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गरेवापत जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार आज नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७१२:४३

काठमाडौँमै आएर आफ्ना क्षेत्रका बासिन्दालाई बाँडियो राहत, छायो खुशियाली !