एजेन्सी – कोरोना भाइरस महामारीका कारण अहिले विश्वका धेरै जस्तो देशहरु लकडाउनमा छन्। लकडाउनका कारण अहिले धेरैको व्यवसाय चौपट भएको छ। दैनिकी ज्यालादारी गर्ने वर्गलाई हात-मुख जोड्न धौ-धौ भएको छ।
कोरोना भाइरस संक्रमणले महामारीको रुप लिए पछि अहिले बेलायत पनि लकडाउनमा छ। त्यहाँ पनि धेरै व्यवसायी र मजदुरहरु लकडाउनका कारण पिडित छन्। त्यहि मध्ये एक रहेका एक व्यक्तिको भने लकडाउनकै समयमा भाग्य चम्किएको छ र उनी रातारात धनी भएका छन्।
घटना ग्रेट म्यानचेस्टर, बेलायतको हो। त्यहाँ रेयान होयले नाम गरेका एक व्यक्ति लकडाउनकै समयमा रातारात अर्बपति बनेका छन्। ५८ मिलियन पाउण्ड बराबरको लट्री जितेपछि उनी रातारात धनी बनेका हुन्। उनले जितेको रकम नेपाली रुपैंयामा ८ अर्ब ७४ करोड भन्दा बढी हुन आउँछ।
यति ठूलो रकम जिते पछि उनी ह्यारी पोटर स्टार एम्मा वाटसन भन्दा पनि धनी भएका छन्। नेशनल लोटरी मिलेनियर्स रिच लिस्टमा उनी २० नम्बरमा पनि परेका छन्।
यति ठूलो रकम जितेपछि आफूले विभिन्न योजना बनाएको उनी बताउँछन्। भाडामा बसिरहेको फ्ल्याटबाट नयाँ घरमा सर्ने, नयाँ कार किन्ने उनको योजना छ।