काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश ईन्चार्ज पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई भागबन्डाको राजनीतिले पतन तर्फ लैजाने बताएका छन्। एक निजी टेलिभिजनसँग अन्तर्वार्ता दिँदै गुरुङले भागबन्डाको राजनीतिले निरन्तरता पाए नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पतन हुने बताएका हुन्।
गत निर्वाचनमा जनताले केपी शर्मा ओलीको नेतृत्वलाई जनमत दिएको हुँदा उनलाई राजिनामा दिन बाध्यपारिए नेकपा दुर्घटनामा पर्ने गुरुङले दावी गरे। जनताले आफ्नो मतको कदर होस् भन्ने चाहेको र जनताले ओलीको राजिनामा नखोजेको उनको तर्क छ। ७० प्रतिशत भन्दा बढी जनता ओलीले राजिनामा दिनुहुन्न भन्ने पक्षमा रहेको पनि उनले दावी गरे।
“पार्टीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसक्ने होइन, सक्छ। तर, पार्टी दुर्घटनामा पर्छ। जनमतको कदर नगर्ने पार्टीलाई जनताले साथ दिँदैनन्।”,अन्तर्वार्तामा उनले भनेका छन्,”केपी ओलीको एक-दुई वटा कमजोरी छ भने केलाउनु पर्यो, सुधार्न लगाउनु पर्यो।”
पार्टीमा जहिले पनि भागबन्डाको राजनीति हुने गरेको भन्दै उनले आक्रोश पनि पोखेका छन्। सबै कुरा भागबन्डा खोज्ने बानिले पार्टीलाई सङ्कटमा पारेको उनको बुझाई छ। उनले वामदेव गौतमलाई प्रधानमन्त्री बन्न धेरै जटिल भएको पनि बताएका छन्।
“वामदेव कमरेड प्रधानमन्त्री बन्नको लागि कानूनी र संवैधानिक जटिलता छन् । अगाडि त काँडाको झाडी छ नि । त्यो झाडी नफाँडीकन उहाँलाई प्रधानमन्त्रीको बाटो खुल्दैन्। मार्गप्रशस्त हुँदैन् ।”,अन्तर्वार्तामा उनले भनेका छन्।