सुकृत नेपाल
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) मै छन् । नेपालमा पनि बन्दाबन्दी गरिएको झन्डै सात हप्ता पुग्न लागिसक्यो । मानिस घरभित्रै सीमित हुनुपर्दा फुर्सदिला बन्नु स्वाभाविक नै हो । आमसर्वसाधारणझैँ घरभित्र ‘लक’ हुँदा नेपाली नायिकाहरूको दैनिकीमा पनि फेरबदल आएको छ । घरको कुन कुनामा के छ भनेर बेखबर नायिकालाई अहिले घरको ‘किचन’देखि ‘बाथरुम’सम्मको अवस्थाबारे चाल पाउने अवसर मिलेको छ । अघि–पछि बिहान उठेदेखि बेलुकी नसुतेसम्म कामको सिलसिलामा घरबाहिर हुने नायिका अहिले घरमा के गर्दै छन् त ? कोही भान्सामा व्यस्त छन् त कोही आफ्नो शारीरिक हेरचाहमा मग्न छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
नायिका केकी अधिकारी अन्य विषयभन्दा आफ्नो स्वास्थ्यमा एकदमै सजग देखिनुभएको छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य छ त सबैकुरा छ । त्यसैले हरेक दिन बिहान नियमित रूपमा योग गर्छु । एकैठाउँमा बसिरहनुपर्दा मानसिक रूपमा समस्या आउन सक्छ भनेर राम्रा गुरुहरूको ‘मोटिभेसनल’ भिडियोसमेत हेर्ने गरेकी छु । चिन्ता गरेर बस्नुभन्दा वर्तमानमा कसरी रमाउने भन्ने कोसिस गरिरहेकी छु ।’
नायिका करिश्मा मानन्धरको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, ‘लकडाउनको समयमा घरको काम धेरै गरिरहेकी छु । खानाबनाउने, लुगा धुनेदेखि भाँडा माझ्नेसम्म मेरो दैनिकी बनेको छ । यसले एक हदसम्म शरीरलाई क्रियाशीलसमेत बनाएको छ । बिहान उठ्नेबित्तिकै छतमा गएर व्यायाम गर्छु । यसका लागि युट्युबका भिडियो मेरा सहयोगी बनेका छन् । व्यायामकै लागि दैनिक आँगनदेखि छतसम्म धेरैपटक तल–माथि समेत गर्छु ।’
बन्दाबन्दीको समय किताब पढ्दै, चलचित्र हेर्दै र गीत सुन्दै बितिरहेको बताउनुहुन्छ अभिनेत्री मिथिला शर्मा । ‘कुनै बेला टेलिभिजन हेर्छु, कुनै बेला फूलमा पानी हाल्छु । बिहान उठेर शारीरिक व्यायाम गर्छु । अहिलेको समय भनेकै आफू सचेत रहेर परिवारलाई पनि सुरक्षित राख्ने हो,’ उहाँले भन्नुभयो । गाह्रो हुँदाहुँदै पनि अनुशासित बनेर बन्दाबन्दीको पालना गर्नुको विकल्प छैन । आफू र परिवारलाई कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित राख्ने एकमात्र उपाय हो यो । त्यसैले सबैले आफू नियममा बसेर अरूलाई पनि सुरक्षित राख्नुपर्छ भनेर सोच्नुपर्ने शर्माले बताउनुभयो । आफ्ना कारणले अरूमा भाइरसको सङ्क्रमण नसरोस् भनेर सबैले सोच्ने हो भने यो महामारीबाट देशलाई नै बचाउन सकिने उहाँको तर्क छ ।
यता, बन्दाबन्दीमा नायिका ऋचा शर्मा बिहानभन्दा पनि बेलुकीपख व्यायाम गर्न रुचाउनुहुन्छ । बेलुकी ४ बजेतिर उहाँको व्यायाम सुरु हुन्छ । नायिका शर्माले यतिखेरको आफ्नो दैनिकी सुनाउँदै भन्नुभयो, ‘सामाजिक सञ्जाल चलाउँछु, समाचारहरूमा ‘अपडेट’ हुन्छु । समय कटाउन धेरै सोच्नुपरेको छैन ।’ बन्दाबन्दीको समयमा बाहिर ननिस्कन नायिका शर्माले सबैलाई आग्रह पनि गर्नुभयो । ‘यो हाम्रै स्वास्थ्यका लागि हो, घरमै बसेर आफू र अरूलाई कोरोना भाइरसबाट बचाउनुहोस्,’ नायिका शर्माले भन्नुभयो । अहिलेको समय भनेको आफैँले बनाएका खानेकुरा खाएर घरमा स्वस्थ भएर बस्ने हो । उहाँले सबैलाई प्रशस्त पानी पिउने सल्लाह पनि दिनुभयो । यो समयमा उहाँले दूधको चियाभन्दा पनि जिरा, बेसार दालचिनी राखेको तातोपानी र कागती पानी पिउने गर्नुहुँदोरहेछ ।
निर्देशक तथा नायिका दीपाश्री निरौला योग र पूजापाठमा आफ्नो दिन बितिरहेको बताउनुहुन्छ । ‘बिहान उठेपछि केही समय योग गर्छु, पूजापाठ गर्छु । उहाँले पनि सबैलाई यो समय घरमै बसेर सकारात्मक सोच्न र सचेतना अपनाउन आग्रह गर्नुभयो । नायिका वर्षा सिवाकोटी भने बन्दाबन्दी हुनुुअघि नै घरमै आफैँ सचेत भएर स्वनिगरानी (क्वारेन्टाइन) मा हुनुहुन्थ्यो । ‘धेरैपछि फुर्सदको समय पाएकी छु । घरमै यसलाई सदुपयोग गरिरहेकी छु,’ उहाँले भन्नुभयो, ‘बिहान व्यायाम गरेर बिताउँछु । त्यसले दिनभरि शरीर र दिमाग दुवैलाई फुर्तिलो बनाउँछ ।’ नायिका वर्षाले फेसबुकमा आफ्नो व्यायाम गर्दै गरेको भिडियो पोस्ट गर्दै सबैलाई यो बेला व्यायाममा ध्यान दिन आग्रह पनि गर्नुभएको छ ।
नायिका तथा निर्मात्री झरना थापा बन्दाबन्दीमा परिवारसँग रमाइरहनुभएको छ । केही समय सामाजिक सञ्जाल चलाउने र सामान्य व्यायाम तथा पूजापाठ गर्ने गरेको उहाँले सुनाउनुभयो । परिवारसँग रमाइलो गरिरहे पनि कोरोना भाइसबाट बच्न आफू सचेत भएको उहाँको भनाइ छ । उहाँले सबैलाई बन्दाबन्दीका समयमा घरमै सावधानीपूर्वक बसेर कोरोनाविरुद्ध लड्न आग्रह गर्नुभयो ।
नायिका बेनिशा हमाललाई आफ्नो शरीरको निकै चिन्ता छ । खाने, चलचित्र हेर्ने र सुत्नेमात्र हुँदा आफ्नो शरीर बिग्रिने हो कि भन्ने डर बढिरहेको उहाँले बताउनुभयो । त्यसैले यो बेला उहाँले व्यायामलाई धेरै महŒव दिइरहनुभएको छ । बेनिशा भन्नुहुन्छ, ‘नेपाल आएको दिनदेखि नै मैले व्यायाम गरिरहेकी छु । बिहान उठेर हलुका खाना खानेबित्तिकै एक घण्टा पसिना बगाउँछु ।’ उहाँ आफ्नो दर्शकलाई पनि व्यायाम गर्न सुझाउनुहुन्छ । ‘अहिले त युट्युब हे¥यो भने हरेक कुरा पाइन्छ । जुम्बादेखि व्यायामका हरेक विषय युट्युबमा भेटिन्छ,’ हमाल भन्नुहन्छ, ‘त्यसैले आफूलाई चुस्तदुरुस्त राख्नका लागि व्यायाम पनि गर्नुहोला ।’ सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यास घरमै गरी स्वस्थ रहन सक्छौँ । शारीरिक रूपमा सक्रिय रहने अभ्यास गर्ने धेरै तरिका छन् । जसका लागि जिम नै जानुपर्छ भन्ने जरुरी छैन । धेरै व्यायाम यस्ता पनि छन्, जसलाई हामीले घरमा नै गर्न पनि सक्छौँ,’ उहाँले भन्नुभयो ।
रङ्गकर्मी लक्ष्मी बर्देवाले भने आफ्नो दिनचर्या यसरी बताउनुभयो, ‘बिहान उठेपछि पानी पिउँछु । त्यसपछि आधादेखि एक घण्टा व्यायाम गर्छु । फुर्सद भएसम्म योग पनि गर्छु । सूर्य नमस्कार गर्छु ।’ शरीरलाई स्वस्थ एवम् चुस्तदुरुस्त राख्न व्यायाम जरुरी छ भन्ने कुरामा आफू सचेत रहेको उहाँले बताउनुभयो । दैनिक व्यायामले शरीरलाई स्फूर्ति राख्न सहयोग गर्छ । समय भएसम्म व्यायाम गरिरहने उहाँको भनाइ थियो । यो बेला त झन् व्यायामलाई बिर्सनै नमिल्ने उहाँले बताउनुभयो ।
आफ्नो सौन्दर्य कायम राख्न सकेसम्म व्यायाम गर्न नभुल्ने बताउनुहुन्छ– नायिका नम्रता श्रेष्ठ । मलाई व्यायामका सन्दर्भमा अनुशासित हुनुपर्छजस्तो लाग्छ । व्यायामले मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ मस्तिष्कले शरीर र स्वस्थ जीवन अगाडि बढाउन महŒवपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।जस्तोसुकै परिस्थितिमा पनि व्यायाम र जिम गर्न भुल्दिनँ भन्दै हुनुहुन्थ्यो अभिनेत्री सञ्चिता लुइँटेल । म बिहान सधैँ एक घण्टा व्यायाम गरिराखेकी हुन्छु । हरेक स्वस्थ मान्छेका लागि नियमित जिम, व्यायाम आवश्यक छ । सकेसम्म ४५ मिनेटदेखि एक घन्टासम्म व्यायाम गर्नुपर्ने उहाँले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको सिकार हुनुपर्ने अवस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्ने एउटा उपाय व्यायाम नै हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत प्रतिहप्ता १५०–३०० मिनेट मध्यम, गहन र मांशपेशीलाई सुदृढ पार्ने शारीरिक अभ्यास गर्न सिफारिस गरेको छ । हप्तामा कम्तीमा दुई दिन यस्तो अभ्यास गर्नु आवश्यक हुन्छ । सक्रिय रहनु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि अति आवश्यक छ ।
आफ्नो शरीरबारे सबैलाई चिन्ता हुन्छ नै । झन् ग्ल्यामरको क्षेत्रलाई आफ्नो पेसा बनाउने नायिकाहरू त यसमा चनाखो बन्नु नै पर्छ । त्यसैले कोही मोटाइएला भनेर त कोही दुब्लाइएला भनेर सजग छन् । आखिर यो बन्दाबन्दीमा धेरैको दिनचर्या भनेको खाने र सुत्ने नै बनेको छ ।