क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै मृत्यु, थ्रोट स्वाब परीक्षण!

सांकेतिक तस्विर

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । रिपोर्ट एक÷दुई दिनभित्रै आउने उहाँले बताउनुभयो । भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिनुभएको थियो । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उहाँको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो । जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ । मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो । लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए ।

प्रकाशित : आइतबार, बैशाख २१, २०७७१०:१९

फेरी १० जनामा कोरोना पुष्टि: ६९ पुग्यो संक्रमितको संख्या!