चितवनकी महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ!

कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् ।

वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए । उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

भागेका १९ जना क्वारेन्टाइनमा
भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ । क्वारेन्टाइनमा नबसी घर गएकालाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्न नमानेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने निर्देशिका जारी गरेको छ तर त्यसको विपरीत भारतबाट फर्केका घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्वारेन्टाइनमा राखेको हो । जिल्लाका अरु ठाउँका नागरिक क्वारेन्टाइनमा नबसेको जानकारी आएको छैन । त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताउनुभयो ।

गएको बिहीबार झुलाघाट नाकाबाट एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए । त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए । दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ स्वदेश फर्किएका छन् ।

यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरू बन्द भएको एक महिना बढी भइसकेको छ । बैसठ्ठी किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन । शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । महाकाली नदीमा ट्युबमार्फत आउने मानिस लुकेर आउँदै सिधै घरमा गएर बसेका हुनसक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ ।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७०४:५०

अमेरिकन आइडलको टप १० मा पुगे दिवेश, सपना जस्तै भएको भन्दै दिए यसरी धन्यवाद!