काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण साउदी अरबमा एक नेपालीको ज्यान गएको छ।
ज्यान गुमाउनेमा इटहरी-५ का लिलामान कटुवाल रहेका छन्। कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने कटुवालको उमेर ५१ वर्ष रहेको बताइएको छ।
करिब दुई हप्ता अगाडी कोरोना संक्रमण भएका उनले एक हप्ता अगाडी मात्रै परिवारलाई कोरोना भाइरस भएको भनि भिडियो कल मार्फत जानकारी गराएका थिए।
भिडियो कल भएको चार दिन सम्म पनि पुनः सम्पर्कमा नआएपछि सोधखोज गर्नेक्रममा उनको निधन भएको थाहा हुन आएको परिवारजनले जनाएका छन्। कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्।
कोरोना भाइरसका कारण निधन भएको हुँदा शव ल्याउन नमिल्ने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको छ।
कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृ-त्यु
बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।
पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती गरेका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए । उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए ।
बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्नुहुन्छ । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।