काठमाडौँ – कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालमा उपचाररत थप ८ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएपछि उदयपुरको भुल्केबाट वैशाख ८, ९ र १० गते ल्याइएका मध्ये ८ जना शुक्रबार डिस्चार्ज भएका हुन्।
डिस्चार्ज भएका ८ मध्ये एक महिलासहित पाँच जना उदयपुरका, २ जना विराटनगरका र एकजना भारत नयाँ दिल्लीका छन्। शुक्रबार तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।
शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतीय नागरिक २४ वर्षीय मो. आदिम, विराटनगर १७ का ७२ वर्षीय आइमुन मियाँ र ६० वर्षीय इजरायल मिया, उदयपुर भुल्केका २० वर्षका अजाद आलम, १८ वर्षका माँ इमरान अहमद, १८ वर्षकै परबेज आलम, ४१ वर्षका मोख्तार मियाँ र ५५ वर्षका रौसन खातुन रहेका छन् ।
कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखिनेछ। महिलालाई होम क्वारेन्टाइन र बाँकी ७ जनालाई विराटनर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिने बताइएको छ।
शुक्रबार डिस्चार्ज भएकाहरूलाई अस्पतालले आयुर्वेदिक औषधि र फूलगुच्छा दिएर बिदाइ गरेको छ। कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार शुक्रबार डिस्चार्ज भएकाहरुलाई क्षमता वृद्धिका लागि च्यवनप्रास, अश्वगन्धा र गिलोई दिइएको छ।
यस अगाडी बुधबार सोहि अस्पतालमा उपचाररत ६ जना डिस्चार्ज भएका थिए। अब अस्पतालमा १७ जना संक्रमित मात्रै रहनेछन्। शुक्रबार ८ जना डिस्चार्ज भएपछि नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३० पुगेको छ।