काठमाडौँ – पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई तत्काल उद्बार गर्न नसके सम्बन्धित मुलुकका सरकारले सम्झौता अनुसार खाने र बस्ने व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन्।
सामाजिक संजाल फेसबुक मार्फत पूर्वमन्त्री विष्टले विदेशमा रहेका नेपाली फिर्ता नल्याइएसम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन्।
करार सम्झौता एकपक्षीय रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर जर्बजस्ती देश छाडन आदेश दिएको हुँदा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको तर्फ सरकारले ध्यान दिनुपर्ने विष्टको बुझाई छ।
सामाजिक संजाल फेसबुकमा विष्टले यसो लेखेका छन् –
यति बेला वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिक दाजुभाई-दिदीबहिनीहरु Covid -19 को कारण जोखिममा छन् । खास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, Visit-Visa को म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन् । कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका छन् । विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको छ । परदेशमा र-गत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बनोस् ।