नेपालगञ्ज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् । नगरका अधिकांश क्षेत्र सुनसान छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
यहाँ २३ जनामा कोभिड–१९ संक्रमित भेटिएपछि केही दिन अघिसम्म लकडाउन उल्लंघन गर्ने व्यक्ति अहिले डरले घरबाहिर निस्केका छैनन् । भारतबाट आउने तरकारीको आयात पूूर्ण रूपमा रोकिएको छ भने स्थानीय थोक तरकारी मण्डी पनि अनिश्चित कालका लागि बन्द गरिएको छ । निषेधित क्षेत्रमा कसैलाई घरबाट बाहिर निस्कन नदिइए पनि औषधि र अन्य आपत्कालीन सेवाका लागि भने सीमित संख्यामा स्थानीयवासीलाई आउजाउ गर्न दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नगरमा निषेधित क्षेत्र घोषणा लगत्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले बढीभन्दा बढी स्थांक्रमित फेलापरेको क्षेत्र र सो वरिपरि क्षेत्रका बासिन्दाको पहिचान गरेर स्वाब संकलन र परीक्षण कार्य तीव्र गतिमा भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताए । उनका अनुसार गएको तीन दिनमा पहिलो संक्रमित र उनको सम्पर्कबाट संक्रमित बनेका करिब तीन सय जनाको खोजी गरेर स्वाब संकलन गरिएको छ । पहिलो दिन संकलन गरिएका ५४ जनाको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै श्रेष्ठले दोस्रो तथा तेस्रो दिन संकलन गरिएका स्वाबको परीक्षण भइरहेको बताए ।
नगरका विपन्न र मजदुरले निषेधित क्षेत्र घोषणा गरेर महामारी फैलिन नदिने प्रशासनको कदमको समर्थन गरेका छन् । यद्यपि, दुई छाक टार्न समस्या भएको गुनासो उनीहरूको छ । बन्दाबन्दीका वेला पनि केही घण्टा छुट हुने हुँदा सो समयमा तरकारी बेचेर जीविका चलाइरहेका नेपालगञ्ज–११ का रहिस कबडियाले तीन दिनदेखि घरमै बस्नुपर्दा छाक टार्न समस्या भएको गुनासो गरे ।
यो गुनासो कबडियाको मात्र होइन, नगरका अधिकांश गरिब, विपन्न र मजदुरको साझा गुनासो हो । नेपालगञ्ज–२ का राजेश बाल्मीकिले उपमहानगरपालिकाले एक महिनाअघि बाँडेको खाद्यान्न सकिएको साता पुग्न लाग्यो, बन्दले बाहिर निस्कन पाइँदैन, कसरी बालबालिका पाल्ने ? भन्दै प्रश्न गरे । परसपुरबाट दैनिक १० किलो दूध ल्याएर बजारमा बिक्री गरी घर खर्च चलाउँदै आएका परसपुरका जयराम यादवले तीन दिनदेखि दूध बिक्री नहुँदा घर खर्च चलाउन समस्या हुन थालेको बताए । उता स्थानीय प्रशासनले भने महामारी फैलिन नदिन नगरलाई निषेधित क्षेत्र घोषणा गरेर सिल गर्न बाध्य भएको जनाएको छ ।
एउटै टोलमा २२÷२३ जना संक्रमित भेटिएपछि संक्रमण थप फैलिन नदिन तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजी गरेर परीक्षण अभियान सहज बनाउन नगरलाई सिल गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनले अहिलेको अवस्थामा महामारी फैलिन नदिने कार्य सबैभन्दा प्राथमिकतामा छ, त्यसैले केही कडा कदम चाल्नुपर्ने अवस्था आएको स्पष्ट पारे । नगरलाई निषेधित क्षेत्र घोषणा गरेपछि संक्रमितको कन्ट्याक्ट टे«सिङ र स्वाब परीक्षण प्रभावकारी बनाउन सहज भएको चिकित्सकले जनाएका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले निषेधित क्षेत्र घोषणापछि सबै धर्मका धार्मिक अगुुवाको सहयोगमा स्वाब संकलन सहज बन्दै गएको बताए ।
नेपालगञ्जमा एकैपटक धेरै संख्यामा संक्रमित भेटिएपछि नगरभरि नै बढीभन्दा बढीको परीक्षण गर्नुपर्ने जनदबाब बढ्दै गएको छ । एक÷दुई दिनमै काठमाडौंबाट परीक्षण किट आइपुग्ने भएकाले त्यसपछि सबै वडामा परीक्षण सुरु गर्ने नेपालगञ्ज उपमहानगरका उपप्रमुुख उमा थापामगरले बताइन् । २३ वैशाख बिहान ११ बजेदेखि २५ वैशाख मध्यरातीसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । स्थानीय प्रशासनले त्यो आदेशलाई यथावत राखी अत्यावश्यक सेवा सञ्चालन र दैनिक उपभोग्य वस्तु बिक्री वितरणका लागि केही खुकुलो बनाउने निर्णय गरेको छ ।